फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को बहुप्रतीक्षित खेलमा आज फ्रान्स र सेनेगलबीच अमेरिकाको मेटलाइफ स्टेडियममा प्रतिस्पर्धा हुँदै छ। नेपाली समयअनुसार मध्यराति १२:४५ मा सुरु हुने खेलमा साविक उपविजेता फ्रान्स बलियो सुरुवातको लक्ष्यमा छ।
विश्वकप इतिहासका दृष्टिले विशेष महत्व बोकेको यो खेलले सन् २००२ को सम्झना फेरि ताजा गराउने निश्चित छ। फ्रान्स र सेनेगलबीच विश्वकपमा भएको पहिलो भेट फुटबल इतिहासकै अविस्मरणीय क्षणमध्ये एक मानिन्छ। सन् २००२ को विश्वकप उद्घाटन खेलमा डेब्यु टोली सेनेगलले तत्कालीन विश्व तथा युरोपियन च्याम्पियन फ्रान्सलाई १-० ले हराउँदै संसारलाई चकित पारेको थियो।
दिवंगत पापा बौउवा डियोपको गोलमा आएको त्यो जित आज पनि अफ्रिकी फुटबलको सबैभन्दा गौरवपूर्ण उपलब्धिमध्ये एक मानिन्छ। त्यसैले न्यू जर्सीमा हुने यो खेल केवल तीन अंकको लडाइँ मात्र होइन, इतिहास र प्रतिष्ठालाइ पुनर्जागृत गर्ने अवसरसमेत हो।
गत डिसेम्बरमा विश्वकपको समूह विभाजन हुँदा फ्रान्स, सेनेगल, नर्वे र इराक रहेको समूह ‘आई’लाई धेरै विश्लेषकहरूले ‘ग्रुप अफ डेथ’ को संज्ञा दिएका थिए।
विश्व फुटबलका शक्तिशाली टोलीहरूबीच हुने प्रतिस्पर्धाका कारण प्रत्येक अंकको महत्व अत्यन्त ठूलो छ। त्यसैले दुवै टोली विजयी सुरुआत गरेर नकआउट चरणतर्फको यात्रा सहज बनाउन चाहन्छन्।
फ्रान्स यसपटक उपाधिको प्रमुख दाबेदारमध्ये एक हो। सन् २०१८ मा विश्वकप जितेको फ्रान्स २०२२ मा फाइनलसम्म पुगेको थियो, जहाँ उसलाई अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा हराएको थियो।
यदि फ्रान्स फेरि फाइनल पुग्न सफल भयो भने लगातार तीन विश्वकप फाइनल खेल्ने इतिहास बनाउने छ। टोलीको सबैभन्दा ठूलो आशा भनेका कप्तान केलियन एम्बाप्पे हुन्। दुई विश्वकपमै १२ गोल गरिसकेका एम्बाप्पे यसपटक विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने लक्ष्यसहित मैदान उत्रिरहेका छन्।
त्यसो त विश्व वरीयतामा १५औँ स्थानमा रहेको सेनेगल अहिले अफ्रिकाका सबैभन्दा बलिया टोलीमध्ये एक मानिन्छ। प्रशिक्षक अलिउ सिसेको नेतृत्वमा रहेको टोलीले विश्वकप छनोट चरण अपराजित रहँदै पार गरेको थियो। अनुभव, शारीरिक क्षमता र सामूहिक खेलका कारण सेनेगललाई कुनै पनि दाबेदार टोलीका लागि चुनौतीपूर्ण प्रतिद्वन्द्वी मानिन्छ।
यद्यपि, विश्वकपअघि भएका मैत्रीपूर्ण खेलहरूमा टोलीको प्रदर्शन अपेक्षाअनुसार रहेन। अमेरिकासँग ३-२ ले पराजित भएको सेनेगलले साउदी अरेबियाविरुद्ध गोल गर्नसमेत संघर्ष गरेको थियो। त्यसैले फ्रान्सविरुद्ध उत्कृष्ट नतिजा निकाल्न सेनेगलले आफ्नो स्तर उल्लेखनीय रूपमा उकास्नुपर्ने देखिन्छ।
सेनेगलको अर्को कमजोरी भनेको विश्वकपमा रक्षात्मक स्थिरताको अभाव हो। २००२ मा फ्रान्सलाई १-० ले हराएको खेलपछि सेनेगलले विश्वकपमा कुनै पनि खेलमा क्लिन–सिट राख्न सकेको छैन।
एकातिर एम्बाप्पेको रवाफ रहँदा अर्कोतिर साडियो मानेको अनुभव मैदानमा देखिने हुँदा यो खेल फुटबल समर्थकका लागि प्रतीक्षित छ।
भर्खरै
लोकप्रिय
