- पोर्चुगलले ६० वर्षदेखिको विश्वकप जित्ने सपना लिएर डीआर कङ्गोसँग भिड्ने तयारी गरिरहेको छ।
- क्रिस्टियानो रोनाल्डो छैटौं विश्वकपमा गोल गर्ने र विश्वकप ट्रफी जित्ने लक्ष्यसँग मैदान उत्रनेछन्।
- कङ्गोले आफ्नो पहिलो विश्वकप गोल गर्दै नयाँ इतिहास रच्न विश्वकपमा स्थान बनाएको छ।
सन् २०२६ को विश्वकपमा आज अर्को एउटा बहुप्रतिक्षित खेल हुँदै छ। नेपाली समय अनुसार रात १०:४५ मा सुरु हुने खेल बहुप्रतिक्षित छ। विश्वकप अभियानमा होमिंदै गर्दा पोर्चुगलले ६० वर्षदेखिको विश्वकपको अपूरो सपना पूरा गर्ने लक्ष्य राखेर मैदान उत्रिंदै छ। समूह ‘के’ अन्तर्गत ह्युस्टनमा हुने उद्घाटन खेलमा उसको सामना अफ्रिकन राष्ट्र कङ्गोसँग हुनेछ।
एकातिर विश्वकप इतिहासमा पहिलो गोलको खोजीमा रहेको डीआर कङ्गो, अर्कोतिर विश्वकपको सबैभन्दा ठूलो व्यक्तिगत कीर्तिमान पछ्याइरहेका क्रिस्टियानो रोनाल्डो। ह्युस्टनमा हुने यो भिडन्त केवल तीन अंकको लडाइँ मात्र नभइ इतिहास लेख्ने अवसर बन्न सक्छ।
विश्वकप इतिहासमा सन् १९६६ मा महान् स्ट्राइकर एउसेबिओको प्रेरणादायी प्रदर्शनमा पोर्चुगल तेस्रो स्थानमा पुगेको थियो। त्यो नै आजसम्म विश्वकपमा उसको उत्कृष्ट नतिजा हो। त्यसयता पोर्चुगल केवल एकपटक (२००६) सेमिफाइनलसम्म पुगेको छ।
यो खेलमा आज सबैको नजर ४१ वर्षीय सुपरस्टार क्रिश्टियानो रोनाल्डोमा हुने छ। रोनाल्डो आफ्नो छैटौं विश्वकपमा गोल गर्ने र करियरमा अभाव रहेको एक मात्र ठूलो उपाधि ‘विश्वकप ट्रफी’ उचाल्ने सपना बोकेर मैदानमा उत्रिदै छन्। यो उनको अन्तिम विश्वकप हुनसक्ने अनुमान गरिएको छ।
पाँच संस्करण खेलेका रोनाल्डो
रोनाल्डो विश्वकपका पाँच संस्करण (२००६, २०१०, २०१४, २०१८ र २०२२) मा खेलेका छन् र ती सबै विश्वकपमा गोल गर्ने उनी एक्ला खेलाडी हुन्। हालसम्म उनले विश्वकपमा आठ गोल गरेका छन्, तर तीमध्ये कुनै पनि नकआउट चरणमा आएको छैन्न।
कतार विश्वकप २०२२ मा उनी स्विट्जरल्यान्डविरुद्धको अन्तिम-१६ को खेलमा बेन्चमा राखिएका थिए। जुन १४ वर्षपछि कुनै ठूलो प्रतियोगितामा उनले सुरुआती रोजाइ नपाएको पहिलो अवसर थियो। युरो २०२४ मा पनि उनी गोलविहीन रहे।
तर पोर्चुगलसँग अहिले प्रतिभावान खेलाडीहरूको बलियो समूह छ। भिटिन्हा, जोआव नेभिस र नुनो मेन्डिसले पिएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लिग जिताउन उत्कृष्ट भुमिका निभाएका थिए। त्यस्तै ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसैले यो पटक पोर्चुगल स्टारहरुले भरिएको छ।
डियोगो जोटाको सम्झनामा
यदि पोर्चुगल समूह विजेता बन्यो भने अन्तिम-३२ को खेल जुलाई ३ मा पर्ने छ, जुन दिवंगत फरवार्ड डियोगो जोटाको निधनको बार्षीकी पनि हो। उनी गत वर्ष युएफा नेसन्स लिग जिताउन सहयोग गरेलगत्तै सडक दुर्घटनामा ज्यान गुमाउन पुगेका थिए। जोटाको सम्मानमा पोर्चुगलका खेलाडीहरूले स्मृति-ब्यान्ड लगाएर खेल्ने तयारी गरेका छन्।
कंगो नयाँ इतिहासको प्रतिक्षामा
कंगोले ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो। यसअघि उसले सन् १९७४ मा ‘जाइरे’ नामबाट विश्वकप खेलेको थियो। मार्चमा मेक्सिकोमा भएको अन्तरमहादेशीय प्लेअफमा जमैकालाई १-० ले पराजित गर्दै कङ्गोले विश्वकप यात्रा सुनिश्चितगरेको थियो।

टोलीमा आरोन वान-विशाखा, एक्सल टवानजेबे, अर्थर मसुवाकु, योने विसा र सेड्रिक बकम्बाउ जस्ता अनुभवी खेलाडी रहेकाले कंगो पनि इतिहास बनाउने प्रायसमा हुने छ। डीआर कङ्गोले विश्वकप इतिहासमा अहिलेसम्म न त कुनै अंक जोडेको छ, न कुनै गोल नै गरेको छ। त्यसैले यो प्रतियोगिता उनीहरूका लागि नयाँ इतिहास रच्ने अवसर हो। योसमूहमा पोर्चुगल र कंगो सँगै कोलम्बिया र उज्वेवकिस्तान रहेका छन्। हरेक टोलीले एक-अर्कासँग एक पटक खेलेपछि शीर्ष स्थानमा रहने २ टोलीले अन्तिम-३२ मा स्थान बनाउँदा उत्कृष्ट तेस्रोमा रहने आठ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन्।
फिफा वरीयतामा पाँचौं स्थानमा रहेको पोर्चुगल यस खेलको स्पष्ट दाबेदार मानिएको छ। यद्यपि अफ्रिकाको तीव्र रूपमा सुधार भइरहेको टोलीका रुपमा रहेको कंगो अप्रत्यासित नतिजाको पर्खाइमा छ।
यस्ता छन् फ्याक्ट
रोनाल्डो विश्वकपका पाँच संस्करणमा गोल गर्ने एकमात्र खेलाडी हुन्। यदि उनले कंगो विरुद्ध गोल गरेमा विश्वकपका ६ वटा संस्करणमा गोल गर्ने पहिलो खेलाडी बन्ने छन्।
विश्वकपमा गोलविहीन कंगो
विश्वकपमा १९७४ मा खेलेका तीनै खेल हारेको कंगो एक गोल पनि गर्न सकेको थिएन। त्यसपछि पहिलो पटक विश्वकपमा स्थान बनाएको उसले यदि यो खेलमा गोल गरे भने त्यो देशको विश्वकप इतिहासकै पहिलो गोल हुने छ।
दुई टोलीबीच पहिलो भेट
पोर्चुगल र कङ्गोबीच अहिलेसम्म कुनै आधिकारिक अन्तर्राष्ट्रिय खेल भएको छैन। त्यसैले विश्वकपकै मञ्चमा उनीहरूको पहिलो भेट हुने छ।
पोर्चुगलको अफ्रिकी टोलीविरुद्ध प्रभावशाली कीर्तिमान
पोर्चुगल आफ्नो पछिल्ला पाँच विश्वकप खेलमा कुनै पनि अफ्रिकी टोलीसँग पराजित भएको छैन। कङ्गोले यो श्रृंखला तोड्न सके त्यो ठूलो र अर्को अप्रत्यासित नतिजा हुने छ।
समूह चरणकै महँगो खेल
रोनाल्डोको सम्भावित अन्तिम विश्वकपका कारण ह्युस्टनमा हुने यो खेलका टिकटको मूल्य असाधारण रूपमा बढेको छ। पोर्चुगलका समूह चरणका खेलहरू विश्वकपकै सबैभन्दा महँगा खेलहरूमध्येमा गनिएको छ।
भर्खरै
लोकप्रिय
