- मिगुएल अल्मिरोनले मुख छोपेर बोलेको आरोपमा रातो कार्ड पाउने विश्वकप इतिहासकै पहिलो खेलाडी बने।
- नयाँ नियमअनुसार, अपमानजनक शब्द लुकाउन मुख छोपेमा खेलाडीलाई कडा कारबाही गरिनेछ।
- पाराग्वेको १-० गोलको अग्रता अन्तर्गत अल्मिरोन रातो कार्ड पाउँदा पनि कायम रह्यो।
जारी विश्वकपमा परिवर्तन भएका नयाँ नियमको सिकार पाराग्वेका मिडफिल्डर मिगुएल अल्मिरोन भएका छन्। फिफा विश्वकपमा पाराग्वे र टर्कीबिच जारी खेलमा मिगुएल अल्मिरोन मुख छोपेर बोलेको आरोपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन्।
शनिबार बिहान जारी खेलमा समूह ‘डी’ अन्तर्गतको खेलमा पहिलो हाफको इन्जुरी समयमा अल्मिरोनलाई मैदानबाट बाहिर पठाइएको हो। घटना मिडफिल्ड नजिक भएको एक फाउलपछि सुरु भएको थियो। अल्मिरोन र टर्कीका मर्ट मुल्डरबीच भनाभन हुँदा अल्मिरोनले आफ्नो मुख छोपेर केही बोलेका थिए। त्यसलगत्तै मुल्डरले रेफ्री इभान बार्टनसमक्ष कारबाहीको माग गरेका थिए।

रेफ्री बार्टनले भिडियो सहायक रेफ्री (भिएआर) मार्फत घटना समीक्षा गरेपछि अल्मिरोनलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाउने निर्णय गरेका थिए। तर खेलको सुरुवातमै पाराग्वेले बनाएको १-० को अग्रता उनले रातो कार्ड पाउँदा सम्म कायम छ।
यस वर्षको विश्वकपदेखि लागू गरिएको नयाँ नियमअनुसार खेलाडीले प्रतिद्वन्द्वीलाई अपमानजनक वा अनुचित शब्द प्रयोग गर्दा त्यसलाई लुकाउन उद्देश्यले मुख छोपेको पाइएमा कारबाही गर्न सकिने व्यवस्था गरिएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यो नियम लागू गर्न जोड दिएका थिए। यसअघि च्याम्पियन्स लिगको एक खेलमा बेन्फिकाका जियानलुका प्रेस्टियानीले रियल मड्रिडका भिनिसियस जुनियरप्रति गरेको अपमानजनक टिप्पणी मुख छोपेर लुकाउने प्रयास गरेको घटनापछि यस्तो नियम ल्याइएको बताइएको छ।
अल्मिरोनको रातो कार्ड विश्वकप इतिहासमै यस प्रकारको नियमअन्तर्गत दिइएको पहिलो कारबाही बनेको छ।
भर्खरै
लोकप्रिय
