- काठमाडौँ महानगरपालिकाले, नेपाल खोखो सङ्घको सहकार्यमा पहिलो पटक विद्यालयस्तरीय उपमेयर कप खोखो प्रतियोगिता आयोजना गर्दैछ।
- प्रतियोगितामा सामुदायिक विद्यालयका कक्षा १० सम्मका छात्रछात्रा सहभागी हुनेछन्, जसलाई ३० निर्णायकले मूल्याङ्कन गर्नेछन्।
- प्रतियोगिताका विजेता टोलीहरूले नगद पुरस्कार, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन्, जसमा प्रथमले रु ५० हजार जित्नेछ।
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आजदेखि पहिलो पटक विद्यालयस्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल खोखो सङ्घले सामुदायिक विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता सम्बन्धी जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा पहिलो पटक महानगरपालिकाव्यापी विद्यालयस्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता गर्न लागिएको जानकारी दिइयो ।
महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले, शिक्षा र खेलकुदका कार्यक्रमलाई समानान्तर तथा समान प्राथमिकताका साथ सञ्चालन गर्ने योजनाअनुरुप यो प्रतियोगिता गर्न लागिएको बताए। प्रतियोगिताका लागि काठमाडौँ महानगरपालिकाले रु ३० लाख प्रदान गर्नेछ । सङ्घले रु ६ लाख लागत व्यहोर्नेछ ।
सङ्घका अध्यक्ष दीपक महर्जनले, विद्यालयस्तरमा खोखो खेलको विकासमा यो प्रतियोगिताले अवसर प्रदान गर्ने धारणा राखे। उनका अनुसार प्रतियोगितामा सामुदायिक विद्यालय तह कक्षा १० सम्म अध्ययनरत छात्रछात्रा दुवै समूहका खेलाडीले भाग लिनेछन् ।
खेल लिग कम नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगिताको निर्णयका लागि ३० निर्णायक मण्डल रहनेछ । प्रतियोगितामा शान्ति निकुञ्ज मावि, महाँकाल मावि, भीमसेनगोला मावि, पद्मकन्या मावि, जनप्रभात मावि, सहिद शुक्र मावि, विश्वनिकेतन मावि, सर्वेश्वर आधारभूत विद्यालय, बाँसबारी मावि र कन्या मन्दिर माध्यमिक विद्यालयले भाग लिएका छन् ।
सङ्घका महासचिव शङ्कर महर्जनले, १२औँ र १३औँ दक्षिण एशियाली खोखो प्रतियोगितामा लगातार कास्य र रजत पदक दिलाएको बताए।
विसं २०२३ नोभेम्बरमा भारतको गुवाहाटीमा सम्पन्न चौथो एशियन खोखो च्याम्पियनसिप प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ नेपालले रजत पदक प्राप्त गरेको थियो । प्रतियोगिता कीर्तिपुर सञ्चालन हुनेछ ।
महिला र पुरुष छुट्टाछुट्टै समूहमा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीले रु ५० हजारसहित मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रो हुनेले क्रमशः रु २५ हजार र रु १० हजार प्राप्त गर्नेछन् ।
भर्खरै
लोकप्रिय
