सुरुवातबाटै प्रतिस्पर्धात्मक बनेको ‘गोल्डेन बुट’को दाबेदारीः मेसी, हालान्ड, एम्बाप्पे या अरु कोही?

सुरुवातबाटै प्रतिस्पर्धात्मक बनेको ‘गोल्डेन बुट’को दाबेदारीः मेसी, हालान्ड, एम्बाप्पे या अरु कोही?
+
-

विश्वकप फुटबलअन्तर्गत समूह चरणहरूको प्रतिस्पर्धा जारी छ। दोस्रो चरण चलिरहँदा गोल्डेन बुटको दाबी थप पेचिलो र रोमाञ्चक देखिएको छ। सुरुवाती प्रतिस्पर्धाबाटै अहिलेको यो विश्वकपको ‘गोल्डेन बुट’ दौडलाई इतिहासकै सबैभन्दा रोमाञ्चक मानिएको छ।

दुई खेलपछि पाँच गोलसहित लियोनेल मेसी शीर्ष स्थानमा छन्। त्यस्तै, केलियन एम्बाप्पे र अर्लिङ हालान्ड समान चार-चार गोलसहित दोस्रो स्थानमा छन्। विश्वकप इतिहासमा दुई खेलपछि तीन खेलाडीले चार वा सोभन्दा बढी गोल गरेको यो केवल दोस्रो पटक हो। यसअघि सन् १९५४ मा मात्र यस्तो भएको थियो।

फेरि एकपटक विश्व फुटबलका उत्कृष्ट फरवार्डहरूले गोलको वर्षा गर्दै अविस्मरणीय प्रदर्शन गरेका छन्। पहिलो खेलमा ह्याट्रिक गरेका मेसीले अस्ट्रियाविरुद्धको दोस्रो खेलमा अर्जेन्टिनाका लागि दुई गोल गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान बनाए।

सोहि दिन अर्थात सोमबार राति नै आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेल खेलेका एम्बाप्पेले इराकविरुद्धको खेलमा दुई गोल गर्दै आफ्नो सानदार लयलाई निरन्तरता दिए। उनले त्यसअघि पहिलो खेलमा पनि दुई गोल गरेका थिए।

हालान्डले पनि दुई गोल गर्दै नर्वेलाई सेनेगलमाथि सहज जित दिलाउँदै टिमलाई अन्तिम ३२ मा पुर्‍याए। विश्वकप करियरमा यही पटक ‘डेब्यु’ गरेका हालान्ड उत्कृष्ट लयमा रहेका छन्।

अहिले अवस्था यस्तो देखिएको छ कि एक खेलाडीले जे गर्छ, अर्कोले त्यसलाई अझ राम्रो बनाइरहेको छ। यो लाइनमा इंग्लिस स्टार हेरी केनले आफूलाई कसरी प्रमाणित गर्छन् त्यो भने इंग्ल्यान्ड र घानाबीचको खेलपछि अझ प्रस्ट हुनेछ। यदि हेरी केनले पनि आफूलाई रेसमा अघि बढाए भने इतिहासकै पेचिलो यो दौड थप रोमाञ्चक बन्ने छ।

विश्व फुटबलका उत्कृष्ट खेलाडीहरूले खेलकै सबैभन्दा ठूलो मञ्चमा कीर्तिमानहरू तोड्दै गर्दा हामी कुनै विशेष क्षणको साक्षी बनिरहेका छौं भन्ने अनुभूति बढ्दै गएको छ।

फ्रान्सेली फुटबल विज्ञ जुलियन लोरेन्सले ठूला स्टार खेलाडीहरू सधैँ गोलको हुटहुटीमा रहने गरेको बताए। उनले भने, ‘उनीहरू केवल गोल्डेन बुटका लागि मात्र होइन, सर्वकालीन गोलको कीर्तिमानका लागि पनि प्रतिस्पर्धा गरिरहेका छन्।’

विश्वकप सुरु हुँदा जर्मनीका मिरोस्लाभ क्लोस १६ गोलसहित सर्वाधिक गोलकर्ता थिए। तर, दुई खेलपछि ३८ वर्षीय मेसी २८ खेलमा १८ गोल गर्दै शीर्ष स्थानमा पुगेका छन्। यस संस्करणमा अर्जेन्टिनाले गरेका पाँचवटै गोल मेसीको नाममा छ। तर, यही विश्वकपमा अर्का खेलाडी अर्थात फ्रान्सेली फरवार्डले १६ खेलमा १६ गोल गर्दै क्लोसको कीर्तिमान बराबरी गरिसकेका छन्। उनी दोस्रो पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्ने लक्ष्यमा छन्। ह्यारी केन पनि यही दौडमा छन् र उनीहरू दुवै मेसीको कीर्तिमानलाई चुनौती दिँदै छन्।

यही दौडमा क्लब फुटबलमा सनसिनीपूर्ण छाप छोडेका म्यानचेस्टर सिटीका गोल मेसिन हालान्ड पनि दबदबा बनाउँदै अघि बढिरहेका छन्। उनी पनि भविष्यमा सर्वकालीन महान गोल स्कोररको कीर्तिमानकै दौडमा छन्।

२५ वर्षीय हालान्ड आफ्नो पहिलो दुई विश्वकप खेलमै लगातार दुई-दुई गोल गर्ने इतिहासका छैटौँ खेलाडी बनेका छन्। नर्वेका लागि उनले ५२ खेलमा ५९ गोल गरिसकेका छन्। पूर्व स्कटल्यान्ड स्ट्राइकर एली म्याककोइस्टका अनुसार प्राकृतिक फुटबल प्रतिभाको हिसाबले मेसी सबैभन्दा अगाडि छन् र एम्बाप्पे दोस्रो स्थानमा हुन सक्छन्। तर, गोल गर्ने क्षमताको कुरा गर्दा हालान्ड जत्तिको उत्कृष्ट खेलाडी उनलाई अरु लाग्दैनन्।

पूर्व इंग्ल्यान्ड मिडफिल्डर करेन कार्नीले पनि सोमबार रातिको दिनलाई स्टारहरूको दिनका रुपमा परिभाषित गरे। उनले भने, ‘यो सुपरस्टारहरूको दिन थियो। मेसीले सबैको ध्यान ताने तर एम्बाप्पे र हालान्डको प्रदर्शन पनि असाधारण रह्यो। अब ह्यारी केनले पनि आफ्नो प्रभाव देखाउने आशा गरौँ।’

यस विश्वकपको पहिलो दिनदेखि नै स्टार फरवार्डहरूले नयाँ कीर्तिमान बनाइरहेका छन्। मेसी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेका छन्। एम्बाप्पे फ्रान्सका शीर्ष गोलकर्ता बनेका छन्। हालान्ड दुई खेलमै नर्वेका विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेका छन्। ह्यारी केनले इंग्ल्यान्डका लागि ग्यारी लाइनकरको विश्वकप गोल कीर्तिमान बराबरी गरेका छन्।

अब यी सबै खेलाडीको नजर फ्रान्सका जस्ट फोन्टेनले सन् १९५८ मा बनाएको एकै विश्वकपमा १३ गोलको कीर्तिमान भंग गर्नेतिर केन्द्रित हुनेछ। अहिलेसम्म केवल तीन खेलाडीले एउटै विश्वकपमा १० वा सोभन्दा बढी गोल गरेका छन्। जसमा जस्ट फोन्टेन (१९५८), गर्ड मुलर (१९७०) र सान्डोर कोचिस (१९५४)। यसपटक त्यो सूची अझ लामो हुन सक्ने सम्भावना देखिएको छ।

४८ टोलीको नयाँ विश्वकप संरचनाले पनि गोल गर्ने अवसर बढाएको छ। कम स्तरका टोलीहरू सहभागी हुँदा उत्कृष्ट आक्रमणकर्ताहरूले बढी अवसर पाइरहेका छन्। विश्वकप विजेताले पनि अब पहिलेभन्दा एक खेल बढी खेल्नुपर्ने भएकाले गोल संख्या बढ्ने सम्भावना अझ बढेको छ।

एम्बाप्पे आफैलाई भने गोल्डेन बुटको दौडमा छु भन्ने लाग्दैन। उनी भन्छन्, ‘म अहिले गोल्डेन बुटबारे सोचिरहेको छैन। मेसीले सधैँ गोल गर्छन्, पहिले पनि गर्थे र भविष्यमा पनि गर्ने छन्।’

उनले अगाडि थपे, ‘यदि मैले उनको प्रदर्शन हेर्न थालेँ भने आफूले अझ धेरै गर्नुपर्छ जस्तो लाग्छ। त्यसैले म उनको बारेमा सोच्दिनँ। म केवल आफ्नो टोलीलाई सहयोग गर्ने सोचमा छु। टोलीलाई सहयोग गर्दा गोल पनि हुन्छ र त्यही स्तरमा पुग्न सकिन्छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…