- बोस्निया-हर्जगोभिनाले कतारलाई ३-१ ले पराजित गर्दै विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनायो।
- कप्तान एडिन जेकोले १५०औँ खेलमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै टोलीलाई दोस्रो गोलमा मद्दत गरे।
- चार अंक जोडेको बोस्निया समूह ‘बी’ मा तेस्रो स्थानमा सीमित भए पनि अर्को चरणको लागि बलियो दाबेदार छ।
पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने आशालाई बलियो बनाउँदै बोस्निया-हर्जगोभिनाले समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा कतारलाई ३-१ ले पराजित गरेको छ।
बोस्नियाले क्यानडासँग समान चार अंक भएपनि ‘हेड टु हेड’ मा पछि रहँदा तेस्रो स्थानमा सीमित हुनुपर्यो। जसका कारण उसले अन्तिम ३२ मा सिधै स्थान बनाउन सकेन, तर प्रतियोगिताका उत्कृष्ट तेस्रो भएर आठ टोलिमा एक टोलीका रुपमा अघि बढ्ने बलियो सम्भावना कायम राख्न सफल भयो। पराजित कतार भने प्रतियोगिताबाट बाहिरियो।
सिएटलमा २९ डिग्री सेल्सियस पुगेको तापक्रमबिच बोस्नियाले आक्रामक सुरुआत गरेको थियो। खेलको पहिलो तीन मिनेटभित्रै एर्मेडिन डेमिरोभिच र इभान सुन्जिचका लामो दूरीका प्रहारलाई कतारका गोलरक्षक महमुद अबुनादाले उत्कृष्ट बचाउ गरेका थिए।
२९औँ मिनेटमा बोस्नियाले अग्रता बनायो। १८ वर्षीय केरिम अलाजबेगोभिचले दुई डिफेन्डरलाई छलाउँदै गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि बोस्निया १-० ले अघि बढ्यो।
ठूलो संख्यामा रंगशालामा उपस्थित बोस्नियाली समर्थकहरू त्यसबेला झन् उत्साहित बने, जब ४० वर्षीय कप्तान एडिन जेकोले आफ्नो १५०औँ अन्तर्राष्ट्रिय खेलमा टोलीको दोस्रो गोलमा महत्वपूर्ण भूमिका खेले। ३४ औं मिनेटमा जेकोले गरेको भली प्रहार डिफेन्डर महमुद अबुनदालाई लाग्दै गोलमा परिणत भयो। उक्त गोल कतारका लागि दुर्भाग्यपूर्ण आत्मघाती गोलका रूपमा दर्ज हुनु पुगेको थियो।
बोस्नियाका सर्वाधिक गोलकर्ता तथा सर्वाधिक खेल खेल्ने कीर्तिमानी खेलाडी जेकोले त्यसको चार मिनेटपछि टोलीको अग्रता ३-० बनाउने अवसर पनि पाएका थिए। तर उनको शक्तिशाली प्रहार गोलपोस्टमा ठोक्किएपछि त्यो अवसर खेर गयो।
कतारले पनि केही अवसर सिर्जना गरेको थियो। पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा कप्तान हसन अल-हायडोसले एडमिल्सन जुनियरको क्रसलाई गोलमा परिणत गर्दै अन्तर घटाए र टोलीलाई आशा दिलाए।
पहिलो हाफको अन्त्यतिर कतारले दबाब बढायो। अक्रम अफिफको पासमा पेड्रो मिगुएलको प्रहार पनि गोलपोस्टमा लाग्दा कतार बराबरीको नजिक पुगेको थियो।
दोस्रो हाफको सुरुमै अफिफको अर्को प्रयास साइड नेटमा लाग्यो। प्रतिआक्रमणमा कतारले केही खतरा सिर्जना गरे पनि टोली सफल हुन सकेन। अन्तिम २० मिनेटका लागि भरपर्दा गोलकर्ता अलमोइज अलीलाई मैदानमा उतारे पनि त्यसले अपेक्षित प्रभाव पार्न सकेन।
बोस्नियाले भने रक्षापंक्तिमा उत्कृष्ट प्रदर्शन गर्यो उसले ८०औँ मिनेटमा तेस्रो गोल गर्दै तीन अंक निश्ति गरेको थियो। वैकल्पिक खेलाडी एर्मिन माहमिकले लगातार दोस्रो खेलमा गोल गर्दै टिमको तीन अंक निश्चित गरे।
यो जितसँगै बोस्निया-हर्जगोभिनाको विश्वकप इतिहासमा केवल दोस्रो विजय हो। यसअघि उसले सन् २०१४ को पहिलो विश्वकप सहभागितामा इरानलाई ३-१ ले हराएको थियो।
चार अंक जोडेको बोस्नियाको अर्को चरण पुग्ने सम्भावना बलियो देखिए पनि त्यसको औपचारिक टुंगो अन्य समूहका खेलहरूको नतिजापछि मात्र लाग्ने छ। यता, कतार भने एक अंकसहित समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो।
समूहचरणको खेल सकिएपछि समूह ‘बी’ को अंक तालिका

भर्खरै
लोकप्रिय
