समूह चरणका अन्तिम खेलहरू सुरु भएसँगै जुलाई १९ मा हुने विश्वकप फाइनलसम्मको यात्रा विस्तारै स्पष्ट र सरल हुँदै गएको छ। पहिलो पटक ४८ टिम सहभागी भएको प्रतियोगिताबाट ३२ टोलीले नकआउट चरणमा स्थान बनाउने व्यवस्था, नयाँ टाइब्रेकर नियम तथा तेस्रो स्थानमा रहेका टोलीहरूको छुट्टै तालिकाले गर्दा कुन टोली कसरी अगाडि बढ्छ भन्ने बुझ्न सजिलो छैन।
अहिलेसम्म धेरै निर्णय हुन बाँकी रहेकाले कुन टोलीलाई नकआउट चरणमा पुग्न कस्तो नतिजा आवश्यक छ भन्ने चासो बढेको छ। प्रतियोगिताको तालिका, खेलको मिति र समयसहितको अद्यावधिक प्रक्षेपणहरूलाई विश्लेषण गर्दा फाइनलसम्मको सम्भावित यात्रा देखाउँछ। तीन आयोजक देश र चार फरक समय क्षेत्रका कारण रातभर जाग्राम बस्ने वा बिहानै उठेर खेल हेर्ने योजना बनाउन पनि केही सहज हुन सक्छ।
नकआउट चरणको छनोट प्रक्रिया कसरी काम गर्छ?
विश्वकपमा सहभागी ४८ टोलीमध्ये समूह चरणपछि १६ टोली बाहिरिने छन् भने बाँकी ३२ टोली उपाधिको दौडमा रहने छन्। १२ वटा समूहका शीर्ष दुई टोली स्वतः अन्तिम ३२ मा प्रवेश गर्नेछन्। बाँकी आठ स्थान भने १२ समूहका तेस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने आठ टोलीले प्राप्त गर्नेछन्।
यदि दुई वा दुईभन्दा बढी टोली समान अंकमा रहन्छन् भने पहिलो टाइब्रेकरका रूपमा आपसी भेटको नतिजा अर्थात ‘हेड टु हेड’ हेरिने छ। यदि त्यसबाट पनि निर्णय हुन सकेन भने गोल अन्तर, गरिएको गोल संख्या, फिफाको ‘टिम कन्डक्ट स्कोर’ अर्थात् पहेंलो र रातो कार्डका आधारमा तय हुने अनुशासन सूचकांक तथा अन्त्यमा जुन महिनामा प्रकाशित फिफा वरीयतालाई समेत आधार बनाइने छ।
यी सबै मापदण्ड चार टोली रहेका १२ वटै समूहमा लागू हुनेछन्। साथै, तेस्रो स्थानमा रहेका १२ टोलीमध्ये उत्कृष्ट आठ टोली छनोट गर्न पनि यही प्रक्रिया अपनाइने छ।
उत्कृष्ट तेस्रो कसरी छनोट हुन्छ?
१२ समूहका तेस्रो स्थानमा रहने टोलीमध्ये उत्कृष्ट आठ टोली अन्तिम ३२ मा पुग्ने छन्। यसका लागि क्रमशः अंक, गोल अन्तर, गरिएको गोल संख्या, अनुशासन अंक र अन्त्यमा फिफा वरीयता हेरिने छ। कुन-कुन समूहका तेस्रो स्थानका टोलीहरू छनोट हुन्छन् भन्ने आधारमा अन्तिम ३२ को खेल तालिका तय हुनेछ।
उदाहरणका लागि, यदि समूह बी, एफ, जी, एच, आई, जे, के र एलका तेस्रो स्थानका टोली छनोट भए भने समूह डीको विजेता अमेरिका र समूह बीको तेस्रो टोली बोस्निया–हर्जेगोभिनाबीच खेल हुनेछ। सुरुमा फिफाले यसका लागि ४९५ सम्भावित संयोजन बनाएको थियो। समूह चरण सकिएपछि कुन-कुन ८ तेस्रो टोली छनोट हुनेछन् भन्ने यिनै विधिहरूद्वारा स्वचालित रूपमा तय हुनेछ र अन्तिम ३२ को खेल तालिका तय हुनेछ।
अब समूहगत रुपमा कसको अवस्था कस्तो हेरौँ
समूह ए
सहआयोजक मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो र शतप्रतिशत नतिजासहित समूह ‘ए’को विजेता बन्यो। ‘एल ट्राइ’ले अब अन्तिम ३२ मा समूह सी, ई, एफ, एच वा आईमध्ये कुनै एक समूहको तेस्रो स्थानमा रहने टोलीसँग मंगलबार खेल्ने छ।
दक्षिण अफ्रिकाले आफ्नो अन्तिम समूह खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो र पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गर्यो। उसले अब सोमबार लस एन्जलसमा क्यानडासँग अन्तिम ३२ को खेल खेल्ने छ।
यस नतिजाले दक्षिण कोरियालाई तीन अंकसहित समूहको तेस्रो स्थानमा सीमित बनायो। अब उनीहरूले त्यो अंक नकआउट चरणमा पुग्न पर्याप्त हुन्छ कि हुँदैन भन्ने प्रतीक्षा गर्नुपर्ने छ। मेक्सिकोसँगको हारपछि चेक गणतन्त्र तीन खेलबाट मात्र एक अंक जोड्दै समूहको पुछारमा रहेर बाहिरियो।
समूह बी
स्वीट्जरल्यान्डले क्यानडामाथि २-१ को जित निकाल्दै सात अंकसहित समूह विजेता बन्यो। स्वीस टोलीले अब जुलाई २ मा भ्यानकुभरमा तेस्रो स्थानमा रहेका कुनै टोलीसँग अन्तिम ३२ को खेल खेल्ने छ।
क्यानडा चार अंकसहित गोल अन्तरका आधारमा उपविजेता बन्यो र उसले सोमबार लस एन्जलसमा दक्षिण अफ्रिकासँग खेल्नेछ।
त्यस्तै, बोस्निया-हर्जगोभिनाले कतारलाई ३-१ ले हराउँदै चार अंकसहित तेस्रो स्थान हासिल गर्यो। दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गरेपछि बोस्निया उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्ने निश्चित भएको छ।
समूह सी
पाँच पटकको विश्वविजेता ब्राजिलले स्कटल्यान्डलाई ३-० ले हराउँदै सात अंकका साथ गोल अन्तरमा समूहको शीर्ष स्थान हासिल गर्यो। अब उसले सोमबार ह्युस्टनमा समूह एफको उपविजेतासँग खेल्ने छ।
मोरक्कोले हैटीलाई ४-२ ले पराजित गर्दै सात अंकसहित दोस्रो स्थानमा रह्यो। उत्तर अफ्रिकी टोलीले अब सोमबार मोन्टेरेमा समूह एफको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
स्कटल्यान्ड तीन अंक र -३ गोल अन्तरसहित तेस्रो स्थानमा रह्यो। तथ्यांक संस्था अप्टाका अनुसार उसले नकआउट चरणमा पुग्ने सम्भावना अहिले ३८ प्रतिशत मात्र छ। प्रशिक्षक स्टिभ क्लार्कको टोलीले अब अर्को खेल खेल्ने अवसर पाउँछ कि स्वदेश फर्किनुपर्छ भन्ने कुराको प्रतीक्षामा छ। अन्तिम निर्णय निकै प्रतिस्पर्धात्मक हुन सक्छ। हैटी भने कुनै अंक जोड्न नसकी यसअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो।
समूह डी
संयुक्त राज्य अमेरिका समूह ‘डी’को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। अब उसले समूह बी, ई, एफ, आई वा जेमध्ये कुनै एक समूहको तेस्रो स्थानको टोलीसँग खेल्ने छ।
अस्ट्रेलिया र पाराग्वे समान तीन-तीन अंकमा छन् र उनीहरू शुक्रबार बिहान आमनेसामने हुँदै छन्। गोल अन्तरमा अगाडि रहेको अस्ट्रेलियालाई दोस्रो स्थान सुरक्षित गर्न बराबरी नै पर्याप्त हुनेछ। तर पाराग्वेले दोस्रो स्थानमा उक्लिएर समूह जीको उपविजेतासँग खेल्न अस्ट्रेलियालाई हराउनै पर्नेछ।
चार अंकसहित तेस्रो स्थानमा रहेर पनि पाराग्वे अगाडि बढ्न सक्ने सम्भावना छ, र उनीहरूले खेल खेल्दा त्यसबारे धेरै हदसम्म स्पष्ट हुनेछ। यदि यीमध्ये कुनै टोली पराजित भयो भने तीन अंक नकआउट चरणका लागि पर्याप्त हुन्छ कि हुँदैन भन्ने चिन्तापूर्ण प्रतीक्षा गर्नुपर्ने छ।
सन् २००२ को विश्वकप सेमिफाइनलिस्ट टर्की भने अस्ट्रेलिया र पाराग्वेसँग दुवै खेल हारेपछि प्रतियोगिताबाट बाहिरिसकेको छ।
समूह ई
जर्मनी यो समूहको विजेता बनिसकेको छ। उसले अन्तिम ३२ मा समूह ए, बी, सी, डी वा एफका तेस्रो स्थानको टोलीसँग खेल्ने छ। आइभरी कोस्टलाई बिहीबार कुरासाओविरुद्ध बराबरी मात्र गरे पनि दोस्रो स्थान सुनिश्चित हुनेछ। त्यसो भए उसले अन्तिम ३२ मा समूह एलको उपविजेतासँग खेल्ने छ।
इक्वेडरले दोस्रो स्थानमा पुग्न जर्मनीलाई हराउनुका साथै आइभरी कोस्ट पराजित हुनुपर्ने छ। यद्यपि तेस्रो स्थानमा रहँदै चार अंक जोड्न सके उसलाई अगाडि बढ्न पर्याप्त हुने सम्भावना बलियो छ।
कुरासाओले आइभरी कोस्टलाई हराए र इक्वेडरले जित्न सकेन भने दोस्रो स्थान हासिल गर्ने छ। यदि इक्वेडर र कुरासाओ दुवैले जिते भने आइभरी कोस्ट समूहको पुछारमा झर्ने छ। यस्तो अवस्थामा गोल अन्तरका आधारमा इक्वेडर दोस्रो र कुरासाओ उत्कृष्ट तेस्रो टोलीका रूपमा अगाडि बढ्ने सम्भावना छ।
समूह एफ
नेदरल्यान्ड्सले अन्तिम खेलअघि नै शीर्ष दुई स्थान सुनिश्चित गरिसकेको छ। उसले शुक्रबार प्रतियोगिताबाट बाहिरिसकेको ट्युनिसियासँग खेल्ने छ।
जापानलाई स्वतः नकआउट चरणमा पुग्न स्वीडेनविरुद्ध कम्तीमा एक अंक आवश्यक छ। पराजित भए पनि चार अंकसहित तेस्रो स्थानमा रहेर अगाडि बढ्ने सम्भावना बलियो छ।
यदि नेदरल्यान्ड्स र जापान दुवैले जिते भने समूह विजेता गोल अन्तरबाट तय हुनेछ। दुवैको गोल अन्तर +४ छ, तर नेदरल्यान्ड्सले एक गोल बढी गरेको छ। यदि दुवै टोली पराजित भए भने दोस्रो र तेस्रो स्थान पनि गोल अन्तरबाट निर्धारण हुनेछ।
यदि गोल अन्तर बराबर भए अनुशासन अंक (डिसिप्लिनरी रेकर्ड) हेरिने छ। त्यसमा जापान अगाडि छ। त्यसपछि फिफा वरीयताले निर्णय गर्ने छ।
यो समूहको विजेताले मोन्टेरेमा मोरक्कोसँग खेल्नेछ भने उपविजेताले ह्युस्टनमा ब्राजिलको सामना गर्ने छ। स्वीडेनले केवल जित निकाले मात्र शीर्ष दुईमा पुग्न सक्छ। यदि नेदरल्यान्ड्स पराजित भयो भने स्वीडेन समूह विजेतासमेत बन्न सक्छ।
बराबरीले उसलाई उत्कृष्ट तेस्रो टोलीमध्ये पर्ने सम्भावना बलियो बनाउने छ, तर हारले तीन अंक पर्याप्त हुन्छ कि हुँदैन भन्ने चिन्ता थप्ने छ। ट्युनिसिया भने स्वीडेन र जापानसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिइसकेको छ।
समूह जी
इजिप्ट समूहको शीर्ष स्थानमा छ। शनिबार इरानसँग हार टारे उसले नकआउट चरणमा स्थान बनाउने छ।
यदि इजिप्ट पराजित भयो र बेल्जियमले न्युजिल्यान्डलाई हराउन सकेन भने पनि इजिप्ट स्वतः अगाडि बढ्ने छ। खराब अवस्थामा पनि चार अंकसहित तेस्रो स्थानमा रहन सक्छ, जुन सम्भवतः पर्याप्त हुनेछ।
इरानले इजिप्टलाई हराए नकआउट चरणमा पुग्ने छ। बराबरी भएमा बेल्जियमले पनि बराबरी गरे मात्र शीर्ष दुईमा रहने सम्भावना रहने छ। उपविजेताले समूह डीको दोस्रो स्थानको टोलीसँग खेल्ने छ।
बेल्जियमले न्युजिल्यान्डलाई हराए शीर्ष दुईमा स्थान बनाउने छ। यदि इजिप्टले इरानलाई हरायो भने बेल्जियमलाई बराबरीले पनि दोस्रो स्थान सुनिश्चित हुनेछ।
यदि बेल्जियम र इरान दुवैले जिते भने शीर्ष स्थान वा दोस्रो स्थानको निर्णय गोल अन्तरबाट हुने छ। दुवैको गोल अन्तर अहिले समान छ। यदि गोल अन्तर पनि बराबर भयो भने अनुशासन अंक र त्यसपछि फिफा वरीयता निर्णायक बन्ने छ, जसमा बेल्जियम अगाडि छ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ।
न्युजिल्यान्डले बेल्जियमलाई हराउनुका साथै इरान इजिप्टसँग पराजित हुनुपर्नेछ।यदि न्युजिल्यान्ड र इरान दुवैले जिते भने न्युजिल्यान्ड चार अंकसहित तेस्रो स्थानमा रहँदै अगाडि बढ्न सक्छ।
समूह एच
स्पेनले शनिबार उरुग्वेविरुद्ध हार टारे शीर्ष दुईमा स्थान बनाउने छ। हारे पनि केप भर्डेले साउदी अरेबियालाई नहराएसम्म स्पेन शीर्ष दुईमै रहने छ। यदि केप भर्डे विजयी भयो भने स्पेन चार अंकसहित तेस्रो स्थानमा झर्ने छ, जुन सम्भवतः पर्याप्त हुनेछ।
स्पेनले बराबरी गरे समूह विजेता बन्नेछ, जबसम्म केप भर्डेले ठूलो अन्तरको जित निकालेर गोल अन्तर उल्ट्याउँदैन। समूह विजेताले समूह जेको उपविजेतासँग खेल्ने छ।
उरुग्वेले स्पेनलाई हराए नकआउट चरणमा पुग्नेछ। बराबरी भए केप भर्डेले पनि बराबरी गरे मात्र शीर्ष दुई सम्भव हुनेछ।
केप भर्डेले साउदी अरेबियालाई हराए शीर्ष दुईमा पुग्ने छ। यदि स्पेनले उरुग्वेलाई हरायो भने बराबरीले पनि उसलाई अगाडि बढाउने छ। यदि उरुग्वे र केप भर्डे दुवैले जिते वा दुवै बराबरीमा रोकिए भने स्थान निर्धारण गोल अन्तरबाट हुनेछ।
यदि गोल अन्तर बराबर रह्यो भने अनुशासन अंक र त्यसपछि फिफा वरीयताले निर्णय गर्ने छ, जसमा उरुग्वे अगाडि छ। दोस्रो स्थानको टोलीले अर्जेन्टिनासँग खेल्ने छ। हार्ने उरुग्वे वा केप भर्डेमध्ये कुनै पनि टोली प्रत्यक्ष रूपमा अगाडि बढ्न सक्ने छैन।
यो समूहमा साउदीको पनि सम्भावना छ। साउदी अरेबियाले केप भर्डेलाई हराएमा र स्पेनले उरुग्वेसँग नहारेमा चार अंकसहित तेस्रो स्थानमा रहे पनि अगाडि बढ्ने सम्भावना रहने छ। यदि स्पेनले उरुग्वेलाई हराएमा र साउदीले केप भर्डेलाई हराएमा साउदी दोस्रो स्थानमै रहेर अघिल्लो चरण पुग्ने छ।
समूह आई
फ्रान्स र नर्वे दुवैले नकआउट चरणमा स्थान बनाइसकेका छन्। अब शुक्रबार हुने खेलले समूह विजेता तय गर्ने छ। फ्रान्सको गोल अन्तर राम्रो भएकाले नर्वेलाई शीर्ष स्थानका लागि जित आवश्यक छ।
समूह विजेताले तेस्रो स्थानको टोलीसँग खेल्ने छ भने उपविजेताले समूह ईको दोस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्ने छ। सेनेगल र इराक दुवैको शून्य अंक छ। यदि उनीहरूको खेलमा विजेता निस्कियो भने तीन अंकसहित उत्कृष्ट तेस्रो टोलीमध्ये पर्ने आशा गर्नुपर्ने छ। तर दुवैको गोल अन्तर कमजोर भएकाले अगाडि बढ्ने सम्भावना निकै कठिन देखिन्छ।
समूह जे
अर्जेन्टिनाले समूह विजेता बनिकसकेको छ र अब उसले समूह एचको उपविजेतासँग खेल्ने छ। अस्ट्रिया र अल्जेरिया समान तीन अंकमा छन् र आइतबार उनीहरूबीच निर्णायक खेल हुनेछ।
गोल अन्तरमा अगाडि रहेकाले अस्ट्रियालाई दोस्रो स्थानका लागि बराबरी पर्याप्त हुनेछ। अल्जेरियाले भने प्रत्यक्ष रूपमा अगाडि बढ्न जित निकाल्नै पर्नेछ।
चार अंकसहित तेस्रो स्थानमा रहने अवस्था बनेमा अल्जेरियालाई पनि अगाडि बढ्न पर्याप्त हुन सक्छ। यो समूह सबैभन्दा अन्तिममा सकिने भएकाले खेलकै समयमा स्थिति स्पष्ट हुनेछ। उपविजेताले समूह एचको विजेतासँग खेल्ने छ। जोर्डन भने प्रतियोगिताबाट बाहिरिइसकेको छ।
समूह के
कोलम्बियाले शीर्ष दुई स्थान सुरक्षित गरिसकेको छ। आइतबार पोर्चुगलसँग हार टारे समूह विजेता बन्नेछ। समूह विजेताले तेस्रो स्थानको टोलीसँग खेल्नेछ। पोर्चुगललाई पहिलो स्थान हासिल गर्न जित आवश्यक छ भने बराबरीले दोस्रो स्थान सुनिश्चित गर्नेछ।
यदि पोर्चुगल पराजित भयो र डीआर कंगो विजयी भयो भने पनि गोल अन्तरमा छ गोलको ठूलो अग्रता भएकाले पोर्चुगलले दोस्रो स्थान जोगाउने सम्भावना धेरै छ। डीआर कंगोले दोस्रो स्थानमा पुग्न उज्बेकिस्तानलाई हराउनुका साथै गोल अन्तरमा ठूलो सुधार गर्नुपर्ने छ। तर जितले उसलाई चार अंकमा पुर्याउने भएकाले तेस्रो स्थानबाट अगाडि बढ्ने सम्भावना बलियो हुनेछ।
उज्बेकिस्तानले जित्नैपर्नेछ, तर ऊ बढीमा तेस्रो स्थानमा मात्र पुग्न सक्छ। -७ गोल अन्तरका कारण तीन अंकसहित अगाडि बढ्ने सम्भावना निकै कम छ।
समूह एल
इङ्ग्ल्यान्ड गोल अन्तरका आधारमा घानाभन्दा अगाडि रहँदै समूहको शीर्ष स्थानमा छ। शनिबार उसले पानामासँग खेल्ने छ। समूह विजेता बन्न इङ्ग्ल्यान्डले घानाको नतिजासँग बराबरी वा त्यसभन्दा राम्रो नतिजा निकाल्नुपर्छ।
यदि दुवै खेल बराबरीमा टुंगिए भने इङ्ग्ल्यान्ड समूह विजेता बन्ने छ। यदि दुवैले जिते भने गोल अन्तरले निर्णय गर्नेछ। इङ्ग्ल्यान्ड +२ र घाना +१ गोल अन्तरमा छन्, जबकि इङ्ग्ल्यान्डले तीन गोल बढी गरेको छ। यदि गोल अन्तर बराबर भयो भने अनुशासन अंक र त्यसपछि फिफा वरीयता निर्णायक बन्नेछ, जसमा इङ्ग्ल्यान्ड अगाडि छ।
घानाले क्रोएसियाविरुद्ध जित वा बराबरी गरे शीर्ष दुईमा स्थान बनाउने छ। यदि घानाले इङ्ग्ल्यान्डभन्दा राम्रो नतिजा निकाल्यो वा ठूलो अन्तरले जित्यो भने समूह विजेता बन्न सक्छ।
हारेमा घाना तेस्रो स्थानमा झर्नेछ, तर चार अंक सम्भवतः पर्याप्त हुनेछ। क्रोएसियालाई प्रत्यक्ष रूपमा अगाडि बढ्न घानालाई हराउनै पर्नेछ। यदि इङ्ग्ल्यान्डले अंक गुमायो भने क्रोएसिया समूह विजेतासमेत बन्न सक्छ।
बराबरीले पनि तेस्रो स्थानबाट अगाडि बढ्ने सम्भावना बलियो हुनेछ। तर ठूलो अन्तरको हारले उसको सम्भावनामा असर पार्न सक्छ। पानामा भने कुनै अंक जोड्न नसकी यसअघि नै बाहिरिइसकेको छ।
भर्खरै
लोकप्रिय
