- फिफा अध्यक्ष जियानी इन्फान्टिनोले उत्तर अमेरिकामा दुई सातामा २४ वटा खेल हेरिशकेका छन्, जसका लागि उनले २७ वटा उडान भरेका थिए।
- उनका निजी जेटबाट उत्पन्न कार्बन उत्सर्जनले औसत ७८ जना मानिसले एक वर्षमा गर्ने कार्बन उत्सर्जन बराबर भएको अनुमान गरिएको छ।
- इन्फान्टिनोको निजी जेट प्रयोगले फिफाको वातावरणीय प्रतिबद्धता र दिगोपनसम्बन्धी दाबीलाई आलोचना गरेको छ।
विश्वकप फुटबलको समूहचरणपछि नकआउट चरणका खेलहरू सुरु भएका छन्। तर समूहचरणमा खेलमात्र होइन फिफा अध्यक्ष जियानी इन्फान्टिनोको आकाशे दौडले सबैलाई चकित बनाएको छ। अध्यक्ष इन्फान्टिनोले उत्तर अमेरिकाभरी दुई साताभन्दा केही बढी अवधिमा २४ वटा खेल प्रत्यक्ष हेरेका छन्। यस क्रममा उनले हजारौँ माइल हवाई यात्रा गरेका छन्।
यसपटकको विश्वकप तीन देश अमेरिका, क्यानडा र मेक्सीकोमा आयोजना भइरहेको छ। १६ वटा आयोजक सहरमा फैलिएको प्रतियोगितामा समूह चरण विस्तार गरिएकाले खेलहरूको संख्या पनि अघिल्ला संस्करणभन्दा बढी छ।
फिफाले सार्वजनिक गरेको सन् २०२६ विश्वकपको दिगोपन तथा मानवअधिकार रणनीतिमा इन्फान्टिनोले भनेका छन्,’हामी जलवायु, मानवअधिकार, रोग वा अपाङ्गताजस्ता जुनसुकै विषयको कुरा गरौँ, त्यसमा आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छौँ।’
तर, बीबीसी स्पोर्टले फिफा र इन्फान्टिनोसँग सम्बन्धित एउटा निजी जेटको गतिविधि पछ्याएर तयार गरेको रिपोर्टले भने उनको यो दाबीलाई खारेज गर्छ। प्रतियोगिताका क्रममा उनले २७ वटा उडान भरेको देखिएको छ। ती उडानका गन्तव्यहरू ती सहरसँग मेल खान्छन्, जहाँ इन्फान्टिनो खेल हेर्दै गरेको तस्बिर सार्वजनिक भएका छन्।
अनुमान अनुसार, केवल दुई साताको अवधिमा उक्त निजी जेटबाट उत्पन्न जलवायु प्रभाव औसत ७८ जना मानिसले एक वर्षभरि उत्पादन गर्ने कार्बन उत्सर्जन बराबर छ।
इन्फान्टिनोले कति यात्रा गरे?
समूह चरणमा इन्फान्टिनोले धेरै पटक एकै दिन दुई-दुई खेल हेरे। ती खेलहरू प्रायः सयौँ माइल टाढा रहेका सहरहरूमा आयोजना भएका थिए। कतिपय दिन उनले तीनवटा उडानसमेत गरेका थिए।
यसअघि पनि उनी कतार एयरवेज एक्जिक्युटिभको निजी विमान प्रयोग गरेको देखिएको थियो। यस विश्वकपमा भने उनी गल्फस्ट्रिम जी-६५० ईआर नामक निजी जेटमा यात्रा गरिरहेको बताइएको छ। फिफाले भने यसको आधिकारीक पुष्टि गरेको छैन्।
तर विमानको उडान अभिलेख र इन्फान्टिनोका सार्वजनिक तस्बिरहरू तुलना गर्दा ती उडानहरू उनको यात्रासँग मेल खाने देखिन्छन्। पहिलो दुई सातामा उनले गरेको सबैभन्दा लामो उडान १३ जुनमा भएको थियो। उनले भ्यानकुभरबाट मियामीसम्म २,८०० माइल (४,५०७ किलोमिटर) यात्रा गरेका थिए। त्यसअघि उनले अष्ट्रेलिया र टर्कीबीचको खेल हेरेका थिए।

कतिपय यात्रा भने निकै छोटा पनि थिए। २२ जुनमा निजी जेट फिलाडेल्फियाबाट न्यु जर्सीको टेटरबोरो विमानस्थलसम्म मात्र ९२ माइल (१४८ किलोमिटर) उडेको थियो। त्यहाँ कुनै खेल नभए पनि भोलिपल्ट बिहान उनले न्युयोर्कस्थित फक्स न्युज स्टुडियोमा अन्तर्वार्ता दिएका थिए। त्यसपछि उनी बोस्टन र टोरन्टोमा खेल हेर्न गएका थिए।
उनको सबैभन्दा लामो एकदिने यात्रा १५ जुनमा भयो। त्यस दिन उनी मियामीबाट सियाटल पुगे, जहाँ बेल्जियम र इजिप्टबीचको खेल हेरे। त्यसपछि उनी करिब ९६० माइल (१,५४५ किलोमिटर) दक्षिणतर्फ लस एन्जलस पुगेर इरान र न्युजिल्यान्डबीचको खेलमा उपस्थित भए।
२६ जुनमा पनि विमान मियामीबाट डलास हुँदै सियाटल पुगेको थियो, जहाँ इजिप्ट र इरानबीचको खेलमा इन्फान्टिनो देखिएका थिए। सियाटल पुगेको करिब पाँच घण्टापछि विमान फेरि २,७०० माइलभन्दा बढी उडेर मियामी फर्किएको थियो।
समूह चरणको आफ्नो २४औँ तथा अन्तिम खेल उनले मियामीमा पोर्चुगल र कोलम्बियाबीचको खेल हेरेर टुंग्याए।
विश्लेषण अनुसार, प्रतियोगिता सुरु भएदेखि जुन २७ सम्म उक्त निजी जेटले कम्तीमा ३१,१४४ माइल (५०,१२२ किलोमिटर) यात्रा गरेको र ६६ घण्टाभन्दा बढी समय आकाशमा बिताएको छ।
कति कार्बन उत्सर्जन भयो?
निजी जेटबाट यात्रा गर्नु वातावरणका दृष्टिले सबैभन्दा प्रदूषणकारी यातायात माध्यममध्ये एक मानिन्छ। यसले हरितगृह ग्यास उत्सर्जन गरी पृथ्वीको तापक्रम वृद्धि र जलवायु परिवर्तनलाई तीव्र बनाउँछ।
इन्फान्टिनोले प्रयोग गरिरहेको मानिएको गल्फस्ट्रिम जी-६५०ईआर विमानले प्रतिघण्टा औसत १,८१७ लिटर इन्धन खपत गर्छ। बेलायती सरकारको हरितगृह ग्यास रूपान्तरण मापदण्डका आधारमा समूह चरणभरको यात्राबाट करिब ५१६ टन कार्बन डाइअक्साइड उत्सर्जन भएको अनुमान गरिएको छ।
यसमा कार्बन डाइअक्साइड मात्र नभई अन्य हरितगृह ग्यास तथा उड्डयनका अप्रत्यक्ष जलवायु प्रभावहरू पनि समावेश गरिएको छ।
विश्वव्यापी रूपमा एक व्यक्तिको वार्षिक औसत हरितगृह ग्यास उत्सर्जन ६.५६ टन मानिन्छ। त्यसैले इन्फान्टिनोको दुई साताभन्दा केही बढी अवधिको यात्राबाट निस्केको उत्सर्जन लगभग ७८ जना व्यक्तिले एक वर्षमा गर्ने उत्सर्जन बराबर भएको अनुमान गरिएको छ।

विमानमा अधिकतम १९ जना यात्रु बस्न सक्ने भए पनि प्रत्येक उडानमा कति व्यक्ति थिए भन्ने जानकारी उपलब्ध छैन। फिफाका एक प्रतिनिधिले दिएको जानकारी अनुसार ‘फिफा अध्यक्षले व्यावसायिक तथा प्रतियोगितासम्बन्धी कामका लागि नियमित यात्रा गर्नुहुन्छ। सम्भव भएसम्म उनी फिफाका सदस्य संघहरूलाई पनि भेट्ने प्रयास गर्नुहुन्छ। परिस्थितिअनुसार कहिलेकाहीँ व्यावसायिक उडान र कहिलेकाहीँ निजी चार्टर विमान प्रयोग गरिन्छ।’
तर विश्वकपका कुन-कुन यात्रामा व्यावसायिक उडान प्रयोग गरियो, निजी जेटमा कति व्यक्ति थिए र उत्सर्जनको क्षतिपूर्ति गरियो वा गरिएन भन्ने प्रश्नमा फिफाले कुनै जवाफ दिएको छैन।
वातावरणविद्हरूको आलोचना
खेलकुद र जलवायुसम्बन्धी संस्था ‘कुल डाउन’का अनुसन्धानकर्ता फ्रेडी डेलीले इन्फान्टिनोको निजी जेट प्रयोगलाई ‘फिफाको वातावरणीय तथा दिगोपनसम्बन्धी कमजोरीको प्रतीक’ बताएका छन्। उनका अनुसार, ‘पर्यावरणीय मुद्दामा फिफाको नेतृत्वबाट अपेक्षा गरिने जिम्मेवारीसँग निजी जेटको प्रयोग पूर्ण रूपमा विपरीत छ।’
युरोपेली यातायात तथा वातावरण महासंघकी दिगो यात्रा विज्ञ डेनिस ओक्लेयरका अनुसार निजी जेटहरू व्यावसायिक विमानभन्दा पाँचदेखि १४ गुणासम्म बढी प्रदूषणकारी हुन्छन् भने रेलभन्दा ५० गुणासम्म बढी प्रदूषण फैलाउँछन्।
फिफाका वातावरणीय प्रतिबद्धता
फिफाले सन् २०३० सम्म कार्बन उत्सर्जन ५० प्रतिशतले घटाउने र सन् २०४० सम्म ‘नेट-जिरो’ लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएको छ। यस विश्वकपका लागि फिफाले केही वातावरणीय प्रतिबद्धता पनि सार्वजनिक गरेको थियो, जसमा टोलीहरूलाई क्षेत्रीय रूपमा राखेर लामो दूरीको यात्रामा कमी ल्याउने, विद्युतीय सवारी, सार्वजनिक यातायात र पानी संरक्षणलाई प्रोत्साहन गर्ने, नयाँ रंगशाला निर्माण नगरी विद्यमान रंगशालाको प्रयोग गर्ने तर प्रतियोगिता सुरु हुनुअघि नै धेरै जलवायु वैज्ञानिकहरूले यसको दिगोपनमाथि प्रश्न उठाएका थिए।
सन् २०२५ मा ‘साइन्टिस्ट्स फर ग्लोबल रेस्पोन्सिबिलिटी’ले प्रकाशित गरेको प्रतिवेदनले यस विश्वकपको कुल कार्बन उत्सर्जन करिब ९० लाख टन पुग्न सक्ने अनुमान गरेको थियो। प्रतिवेदनअनुसार यो अघिल्ला चार विश्वकपको औसतभन्दा झण्डै दोब्बर हुने छ र यसलाई इतिहासकै सबैभन्दा प्रदूषणकारी विश्वकप बनाउने छ।
सन् २०२३ मा स्विट्जरल्यान्डको एक नियामक निकायले कतार विश्वकपलाई इतिहासकै पहिलो कार्बन-न्युट्रल विश्वकप भएको फिफाको दाबीलाई ‘भ्रामक’ ठहर गरेको थियो।
यसबारे फिफाले प्रतिक्रिया दिँदै जलवायु परिवर्तन वर्तमान समयका सबैभन्दा गम्भीर चुनौतीमध्ये एक भएको र यसका लागि तत्काल तथा दिगो कदम आवश्यक रहेको जनाएको थियो।
अघिल्लो कतार विश्वकपमा इन्फान्टिनोले सबै ६४ खेल प्रत्यक्ष हेरेका थिए। त्यतिबेला आठवटै रंगशाला एक-अर्काबाट करिब एक घण्टाको दूरीभित्र थिए। तर यसपटक विश्वकप पूरै उत्तर अमेरिकी महादेशमा फैलिएकाले यात्रा व्यवस्थापन र वातावरणीय चुनौती पनि निकै ठूलो बनेको छ।
खर्च कति भयो?
अहिलेसम्म इन्फान्टिनोको निजी जेट यात्रामा कति खर्च भयो भन्ने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। तर उपलब्ध उडान तथ्यांक र निजी जेट चार्टर दरका आधारमा एउटा जेटले समूह चरणमा करिब ६६ घण्टा उडान गरेको बताइएको छ। प्रयोग भएको मानिएको गल्फस्ट्रिम जी-६५०ईआर विश्वकै महँगा निजी जेटमध्ये एक मानिन्छ। उत्तर अमेरिकामा यस्ता जेटहरूको चार्टर लागत सामान्यतया प्रतिघण्टा १० हजारदेखि १५ हजार अमेरिकी डलरसम्म पर्न सक्ने जनाइएको छ। अर्थात् त्यसलाई आधार मान्दा समूह चरणका २७ उडानका लागि मात्र करिब ६ लाख ६० हजारदेखि १० लाख अमेरिकी डलर करीब ९ देखी १३ करोड खर्चिएको हुन सक्छ।
तर इन्फान्टिनोका लागि कतार एयरवेजको प्रायोजन सम्झौताको अंगका रुपमा यो जेट प्रयो गरिरहेको बताइन्छ। यदि त्यसो हो भने फिफाले प्रत्यक्ष रूपमा चार्टर शुल्क नतिरेको हुनसक्छ तर उनको यो यात्राले जलवायु र फिफाको प्रतिवद्धता माथि भने प्रश्न उठाएको छ।
भर्खरै
लोकप्रिय
