ब्राजिल-नर्वेको बहुप्रतिक्षित भिडन्तः हालान्डविरुद्ध भिनिसियस, कसले मार्ला बाजी?

ब्राजिल-नर्वेको बहुप्रतिक्षित भिडन्तः हालान्डविरुद्ध भिनिसियस, कसले मार्ला बाजी?
+
-
देशसञ्चार AI सारांश
  • सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल २८ वर्षपछि विश्वकपको नकआउट चरणमा नर्वेको सामना गर्दैछ।
  • ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोसँग बराबरी, हाइटी र स्कटल्यान्डलाई हराउँदै समूह विजेता बनेको छ।
  • नर्वेले समूह चरणमा इराक र सेनेगललाई हरायो र हालान्डको निर्णायक गोलले आइभरी कोस्टलाई पराजित गर्यो।

सन् २०२६ को फिफा विश्वकप अन्तर्गत आइतबार राति हुने अन्तिम १६ को सबैभन्दा आकर्षक मध्येको र बहुप्रतिक्षित मानिएको भेटमा पाँच पटकको विश्वविजेता ब्राजिल २८ वर्षपछि विश्वकपको नकआउट चरणमा फर्किएको नर्वेबिच प्रतिस्पर्धा हुँदै छ।

यो खेलमा विगतको इतिहास भन्दा पनि वर्तमानको तापनै सबैका लागि प्रतिक्षित छ। जहाँ भिनिसियस जुनियर र अर्लिङ हालान्डले क्लब फुटबलमा छोडेको सुपुर स्टार छविलाई कायम राख्लान या अरुनै कुनै खेलाडीको कथा लेखिएला भन्ने प्रतिक्षा बेजोड छ। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफमा हुने खेलले क्वार्टरफाइनलमा स्थान बनाउने टिमको तय गर्ने छ।

फिफा वरियतामा ५ स्थानमा रहेको ब्राजिल र २१ स्थानमा रहेको नर्वेबिचको खेलमा अहिले सम्मको प्रदर्शनमा दुबै टोलीले अब्बल प्रदर्शन सहित नतिजा आफ्नो पक्षमा पारेका छन्।

कार्लो एन्सेलोटिको नेतृत्वमा रहेको ब्राजिलले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेलेको थियो। त्यसपछि हाइटी र स्कटल्यान्डलाई समान ३-० ले हराउँदै समूह ‘सी’ को विजेता बन्यो। तीनवटै खेलमा भिनिसियस जुनियरले गोल गर्दै उत्कृष्ट लय देखाए।

अन्तिम ३२ मा जापानविरुद्ध भने ब्राजिलले कठिन परीक्षा सामना गर्योो। सुरुआती गोल खाएपछि पुनरागमन गर्दै २-१ को जित निकाल्यो। खेलको इन्जुरी समयमा वैकल्पिक खेलाडी गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई अन्तिम १६ मा पुर्‍याए।

अर्को तर्फ नर्वेले समूह ‘आई’ मा इराकलाई ४-१ र सेनेगललाई ३-२ ले हराउँदै सुरुआती दुई खेलमै नकआउट चरण सुनिश्चित गरेको थियो। त्यसपछि फ्रान्ससँग ४-१ ले पराजित हुँदा प्रशिक्षकले टोलीमा १० खेलाडी परिवर्तन गरेका थिए र प्रमुख स्ट्राइकर हालान्डलाई विश्राम दिएका थिए।
तर आइभरी कोस्टविरुद्ध अन्तिम ३२ को खेलमा हालान्ड पुनः टोलीमा फर्किए र ८६औँ मिनेटमा विजयी गोल गर्दै नर्वेलाई २-१ को जित दिलाए। त्यो गोल प्रतियोगितामा उनको पाँचौँ गोल थियो।

ब्राजिलबाट के अपेक्षा गर्ने?

ब्राजिल अझै पूर्ण रूपमा लयमा नदेखिए पनि प्रतियोगितासँगै परिपक्व हुँदै गएको टोलीका रूपमा हेरिएको छ। टोलीमा अनुभवी गोलरक्षक, भरपर्दा रक्षक, बलियो मिडफिल्ड र विश्वस्तरीय विङ्गरहरूको राम्रो संयोजन छ।

भिनिसियस जुनियर उत्कृष्ट लयमा छन् भने ब्रुनो गिमारेस प्रतियोगिताका सबैभन्दा प्रभावशाली मिडफिल्डरमध्ये एक बनेका छन्। घाइते राफिन्हाको स्थानमा आएका रायानले पनि प्रभावशाली प्रदर्शन गरेका छन्।

जापानविरुद्ध ब्राजिल १-० ले पछि पर्दा प्रशिक्षक आन्सेलोटीले देखाएको धैर्यता र सही रणनीतिक निर्णय निर्णायक बन्यो। कासेमिरोलाई मैदानमै राख्ने र मार्टिनेलीलाई मैदानमा उतार्ने निर्णयले नै ब्राजिललाई प्रतियोगितामा जोगाएको मानिन्छ।
युरोपेली टोलीविरुद्ध विश्वकपको नकआउट चरणमा २४ वर्षयता पहिलो जित निकाल्ने लक्ष्यमा रहेको ब्राजिलका लागि एन्सेलोटीको अनुभव फेरि ठूलो अस्त्र हुने छ।

नर्वेबाट के अपेक्षा गर्ने?

नर्वे यो विश्वकपको सबैभन्दा निडर र स्वतन्त्र शैलीमा खेल्ने टोलीमध्ये एक बनेको छ। प्रशिक्षक स्टेल सोलबाकेनको टोलीले अहिलेसम्म कुनै पनि नीरस खेल खेलेको छैन। सेट–पिस, तीव्र काउन्टर याट्याक र बलमा नियन्त्रण तीनै पक्षमा नर्वे सक्षम देखिएको छ।

एन्टोनियो नुसाले बायाँ विङबाट उत्कृष्ट प्रदर्शन गरेका छन् भने प्याट्रिक बेर्गले मिडफिल्डलाई थप गतिशील बनाएका छन्। अलेक्जान्डर सोर्लोथको बहुआयामिक भूमिकाले पनि टोलीलाई थप सन्तुलित बनाएको छ।

हालान्ड र मार्टिन ओडेगार्ड जस्ता स्टार खेलाडीमाथि मात्र निर्भर नहुने रणनीतिले नर्वेलाई अझ बलियो बनाएको छ। हालान्डलाई गोल गर्ने क्षेत्रमा केन्द्रित राखिएको छ भने ओडेगार्डले मिडफिल्डबाट खेल सञ्चालन गरिरहेका छन्। यसले टोलीमा राम्रो सन्तुलन र सामूहिक भावना देखिएको छ।

कसको सम्भावना बलियो?

अनुभव, इतिहास र व्यक्तिगत क्षमताका आधारमा ब्राजिललाई हल्का रूपमा अग्रता दिइए पनि नर्वेले यस विश्वकपमा आफूलाई निकै खतरनाक टोलीका रूपमा स्थापित गरिसकेको छ। दबाबविहीन भएर खेल्ने नर्वेसँग हालान्डजस्तो विश्वस्तरीय गोलकर्ता छ भने ब्राजिलसँग एन्सेलोटीको रणनीतिक अनुभव र भिनिसियसको उत्कृष्ट लय छ।

यसैले यो खेल केवल दुई टोलीबीचको प्रतिस्पर्धा मात्र नभई विश्व फुटबलका दुई फरक शैलीबीचको रोमाञ्चक भिडन्त पनि हुनेछ। विजेताले क्वार्टरफाइनलको यात्रा तय गर्नेछ भने पराजित टोलीको विश्वकप यात्रा यहीँ टुंगिने छ।

यस खेलका सबैभन्दा ठूला आकर्षण निस्सन्देह हालान्ड र जुनियर हुन। यी दुवै खेलाडीले आफ्नो-आफ्नो टोलीका लागि विश्वकपका सर्वाधिक गोलकर्ताको रुपमा रहेका छन्। उनीहरूको प्रदर्शनले नै टोलीको यात्राको दिशा निर्धारण गर्न सक्छ।

दुइ टिमको कस्तो छ इतिहास ?
अन्तर्राष्ट्रिय फुटबलमा नर्वे ब्राजिलका लागि दुर्लभ चुनौतीपूर्ण प्रतिद्वन्द्वी हो। अहिलेसम्म यी दुई टोलीबीच चार खेल भएका छन् र नर्वे ब्राजिलसँग कहिले पनि पराजित भएको छैन। ४ पटक भिड्दा २ खेल नर्बेले जितेको छ भने २ खेल बराबरी भएको छ। पछिल्लो पटक २००६ मा भएको मैत्रीपूर्ण खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेलेका थिए।

प्रतिस्पर्धात्मक रूपमा उनीहरूको एकमात्र भेट सन् १९९८ को विश्वकप समूह चरणमा भएको थियो। त्यसबेला साविक विजेता ब्राजिल विश्वकपमा लगातार १० खेल अपराजित रहँदै अघि बढिरहेको थियो। तर फ्रान्सको मार्सेमा भएको खेलमा नर्वेले सबैलाई चकित पार्दै २–१ को ऐतिहासिक जित निकालेको थियो।

त्यो खेल निकै स्मरणीय बनेको थियो। खेलअघि फिफाले विशेष अनुमति दिएर एक नर्वेली युवक र एक ब्राजिली युवतीको विवाह गराएको थियो। त्यसपछि भएको खेल नै उनीहरूको विवाह भोजजस्तै बन्यो।

खेलको अन्त्यतिर बेबेटोले ब्राजिललाई अग्रता दिलाए पनि टोरे-आन्द्रे फ्लोले बराबरी गोल फर्काए। त्यसपछि इन्जुरी समयमा प्राप्त पेनाल्टीमा क्येटिल रेकडालले निर्णायक गोल गर्दै नर्वेलाई अन्तिम १६ मा पुर्‍याएका थिए।

रेकडालले पछि खुलासा गरेका थिए, ‘खेलअघिको रात मैले अन्तिम समयमा पेनाल्टीमार्फत विजयी गोल गर्ने सपना देखेको थिएँ। ड्रेसिङ रुममै पनि मैले त्यही कुरा दोहोर्यामएको थिएँ।’ जब पेनाल्टी पाइयो, ओले गुन्नार सोल्स्कजाएरले मलाई ‘अब तिमीले भनेको कुरा पूरा गर्ने मौका आयो’ भने। सौभाग्यवश, मैले गोल गर्न सफल भएँ र त्यो क्षण अविस्मरणीय बन्यो।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…