- युइएफएले फिफाको निर्णयलाई ‘अभूतपूर्व’ र ‘बुझ्नै नसकिने’ भन्दै फुटबलको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पको दबाबपछि बालोगुनमाथि निलम्बन लागू नगर्ने निर्णय हुँदा फुटबलको नियम उल्लंघन भएको युइएफएको भनाइ छ।
- युइएफए र फिफा बीच खेलसम्बन्धी निर्णयमा बढ्दो मतभेद राजनीतिक प्रभावका कारण फुटबलको स्वायत्तता कमजोर हुने भन्दै बताइएको छ।
युरोपेली फुटबल महासंघ (युइएफए) ले फिफाले अमेरिकी फरवार्ड फोलारिन बालोगुनमाथि लाग्नुपर्ने स्वतः एक खेलको निलम्बन लागू नगर्ने निर्णयको कडा आलोचना गरेको छ। युइएफएले उक्त निर्णयलाई ‘अभूतपूर्व, बुझ्नै नसकिने र कुनै पनि हिसाबले जायज ठहराउन नसकिनेु भन्दै फुटबलको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।
संयुक्त राज्य अमेरिकाका स्ट्राइकर बालोगुनलाई बोस्निया–हर्जेगोभिनाविरुद्धको खेलमा रातो कार्ड देखाइएको थियो। प्रचलित नियमअनुसार उनले त्यसपछि हुने बेल्जियमविरुद्धको विश्वकप अन्तिम–१६ को खेलमा स्वतः प्रतिबन्ध भोग्नुपर्ने थियो।
तर फिफाले २५ वर्षीय बालोगुनमाथि तत्काल निलम्बन लागू नगर्ने निर्णय गरेपछि उनी बेल्जियमविरुद्ध खेल्न योग्य भएका छन्। युइएफएले प्रतियोगिताकै बीचमा हस्तक्षेप गर्दै स्वतः लागू हुने निलम्बन हटाउने निर्णयले फुटबलले पार गर्न नहुने ुरेड लाइनु पार गरेको टिप्पणी गरेको छ।
विश्वकप इतिहासमा देखाइएका १८८ अन्य रातो कार्डमध्ये केवल एक खेलाडी मात्र निलम्बनबाट जोगिएका थिए। सन् १९६२ को विश्वकपमा ब्राजिलका गारिन्चा निलम्बनबाट बचेका थिए। त्यसबेला स्वतः निलम्बनको व्यवस्था लागू भइसकेको थिएन र त्यस घटनामा राजनीतिक हस्तक्षेप भएको आरोप पनि लागेको थियो।
न्युयोर्क टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरी बालोगुनमाथिको निलम्बनबारे छलफल गर्दै फुकुवा गर्न दबाब दिएपछि फिफाले आफ्नो निर्णय परिवर्तन गरेको हो।
राष्ट्रपति ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत फिफालाई धन्यवाद दिँदै ुठूलो अन्याय सच्याएकोु बताएका थिए। उता बेल्जियम फुटबल संघ ९आरबीएफए० ले पनि बालोगुनमाथि प्रतिबन्ध नलाग्ने निर्णयप्रति ‘आश्चर्यचकितु भएको जनाएको छ।
बेल्जियमका विदेशमन्त्री माक्सिम प्रेवोले सोमबार प्रतिक्रिया दिँदै भने, ‘यदि यो बुझ्नै नसकिने निर्णयको कारण वास्तवमै एउटा फोन कल हो भने, त्यो फुटबल र खेलकुदका आधारभूत नियमहरूको खुला उल्लंघन हुने छ।’
सन् २०१६ मा भ्रष्टाचार काण्डपछि पदबाट बाहिरिएका पूर्व फिफा अध्यक्ष सेप ब्लाटरले पनि सामाजिक सञ्जाल एक्समा लेख्दै ‘फुटबल कहिल्यै पनि राजनीतिक शक्तिको खेलमैदान बन्नु हुँदैन’ भनेका छन्।
युइएफएले एक खेलको स्वतः निलम्बन कुनै वैकल्पिक व्यवस्था नभई प्रतियोगिताको नियममै समावेश भएको आधारभूत सिद्धान्त भएको स्पष्ट पारेको छ। युइएफएको विज्ञप्तिमा भनिएको छ, ‘जब नियमको निश्चित कार्यान्वयन गर्ने जिम्मेवारी पाएका निकायबाटै त्यसको सुनिश्चितता हुँदैन, तब खेलको निष्पक्षता जोखिममा पर्छ र प्रतियोगिताको विश्वसनीयता कमजोर हुन्छ।’
युइएफाले थप भनेको छ, ‘यस निर्णयले यही विश्वकपमा यस्तै प्रकृतिका अन्य घटनामा पनि समान व्यवहार गर्नुपर्ने नजिर स्थापना गरेको छ, जसले प्रतियोगितालाई नै नोक्सान पुर्या उने छ। यस्तो अभूतपूर्व, बुझ्नै नसकिने र कुनै पनि हिसाबले उचित ठहराउन नसकिने निर्णयप्रति हामी स्तब्ध छौं।’
युरोपेली संघका खेलकुद आयुक्त ग्लेन मिकालेफले पनि खेलसम्बन्धी निर्णय खेलकुद निकायले नै गर्नुपर्ने बताए। उनले एक्समा लेखेका छन्, ‘खेलसम्बन्धी निर्णय राजनीतिज्ञले होइन, खेलकुद संस्थाले लिनुपर्छ। खेलका निर्णयमा राजनीतिक प्रभाव पार्ने प्रयासले खेलकुदको स्वायत्ततालाई कमजोर बनाउँछ। हाम्रो ध्यान खेलकुदलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रवृत्तिलगायत खेल प्रशासनका वास्तविक चुनौतीतर्फ केन्द्रित हुनुपर्छ।’
पछिल्ला केही महिनायता युइएफए र फिफाबीच विभिन्न विषयमा मतभेद बढ्दै गएको छ। हालै सोमाली रेफ्री ओमार आर्टानलाई विश्वकपमा खेल सञ्चालन गर्न संयुक्त राज्य अमेरिकाले प्रवेश अनुमति नदिएपछि युइएफएले उनलाई आगामी अगस्ट १२ मा हुने पेरिस सेन्ट(जर्मेन र एस्टन भिल्लाबीचको यूईएफए सुपर कपको फाइनल खेल सञ्चालन गर्ने जिम्मेवारी दिएको थियो।
भर्खरै
लोकप्रिय
