अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल अमेरिकामा आयोजना भएका कुनै पनि खेलकुद प्रतियोगिताको इतिहासमै सबैभन्दा मँहगो बनेको छ।
प्रतियोगिताको टिकट रिसेल (पुनर्बिक्री) बजारमा सबैभन्दा महँगो बन्न पुगेको छ। दोस्रो बजारमा टिकट बिक्री गर्ने कम्पनी टिकपिकका अनुसार यस फाइनलका टिकटले सुपर बाउल र एनबीए फाइनलजस्ता प्रतिष्ठित प्रतियोगिताका टिकटको मूल्यसमेत उछिनेका छन्।
फाइनल हेर्नका लागि सबैभन्दा सस्तो (गेट-इन) टिकटको मूल्य ६ हजार ९४३ अमेरिकी डलर पुगेको छ। अर्जेन्टिनाले बुधबार इंग्ल्यान्डलाई हराउँदै फाइनलमा स्थान बनाएसँगै यो टिकटको मूल्य ७ हजार २०० डलर पुगेको छ। तर यो सबैभन्दा सस्तो टिकट हो। तर ठाँउअनुसार टिकटको मूल्यलाई हेर्दा औसत टिकटको मूल्य निकै उच्च छ।
टिकपिकका अनुसार फाइनल टिकटको औसत खरिद मूल्य ११ हजार ३२७ अमेरिकी डलर पुगेको छ, जुन अमेरिकाको खेलकुद इतिहासमै अहिलेसम्मकै सबैभन्दा उच्च औसत मूल्य हो। हालसम्मको सबैभन्दा महँगो खरिदमा मेटलाइफ स्टेडियमको सेक्सन ११५ ‘ए’ का दुई टिकट प्रति टिकट २८ हजार ४७९ डलर (कुल ५६,९५८ डलर) मा बिक्री भएका छन्।
अमेरिकाको खेलकुद इतिहासका सबैभन्दा महँगा टिकटहरू
टिकपिकका अनुसार औसत खरिद मूल्यका आधारमा अमेरिकाको खेलकुद इतिहासका सबैभन्दा महँगा टिकट भएका प्रतियोगिताहरूमा फिफा विश्वकप २०२६ फाइनल (अर्जेन्टिनाविरुद्ध स्पेन) औसत ११,३२७ डलर र सुपर बाउल ५८ (सन् २०२४) सान फ्रान्सिस्को फोर्टी नाइनर्स विरुद्ध कान्सास सिटी चिफ्स ९ हजार ४११ अमेरिकी डलर हो।
त्यस्तै, सुपर बाउल ५५ (सन् २०२१) टाम्पा बे बुकानियर्सविरुद्ध कान्सास सिटी चिफ्स ७ हजार ३१३ अमेरिकी डलर, सुपर बाउल ५४ (सन् २०२०) कान्सास सिटी चिफ्सविरुद्ध सान फ्रान्सिस्को फोर्टी नाइनर्स ६ हजार ५४६ अमेरिकी डलर थियो। त्यस्तै, एनबीए फाइनल २०२६ को तेस्रो खेल न्युयोर्क निक्सविरुद्ध सान एन्टोनियो स्पर्स ६ हजार ३०८ अमेरिकी डलर रहेको थियो। त्यस्तै, एनबीए फाइनल २०२६, खेल ३ को न्युयोर्क निक्सविरुद्ध सान एन्टोनियो स्पर्सको मूल्य ६,३०८ डलर रहेको थियो।
तेस्रो स्थानको खेलका टिकट पनि महँगा
फ्रान्स र इंग्ल्यान्डबीच हुने तेस्रो स्थानको खेल हेर्नका लागि सबैभन्दा सस्तो टिकटको मूल्य पनि करिब ९०० अमेरिकी डलर पुगेको छ। यद्यपि इंग्ल्यान्ड अर्जेन्टिनासँग पराजित भएपछि यसको मूल्य करिब ३०० डलरले घटेको बताइएको छ।
किन यति महँगो भयो विश्वकप?
फिफाको ९६ वर्षे इतिहासमा विश्वकप २०२६ सबैभन्दा महँगो प्रतियोगिता बनेको छ। प्रतियोगिता सुरु हुँदा टिकटको औसत मूल्य १ हजार ६२२ डलर थियो। सेमिफाइनलसम्म आइपुग्दा त्यो बढेर ४ हजार १६२ डलर पुगेको थियो।
यद्यपि, सबै खेलमा टिकट महँगो भएनन्। स्पेन र बेल्जियमबीच भएको क्वार्टरफाइनलका टिकट भने दोस्रो बजारमा करिब ६० प्रतिशतसम्म सस्तिएका थिए। अमेरिका र क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल प्रतियोगिताबाट बाहिरिएपछि त्यस खेलप्रतिको माग घटेकाले टिकटको मूल्य पनि उल्लेखनीय रूपमा ओरालो लागेको थियो।
भर्खरै
लोकप्रिय
