दाङ – लुम्बिनी प्रदेशमा कांग्रेस–एमाले सत्ता सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल अघि बढेको छ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनीमा एमालेसँगको सहकार्यलाई निरन्तरता दिने विषयमा पार्टीभित्र छलफल भइरहेको जानकारी दिए।
उनले यसअघि भएको सहमतिअनुसार आलोपालो नेतृत्वको व्यवस्थालाई कार्यान्वयन गर्ने विषय पनि छलफलमा रहेको बताए। ‘पहिले भएको सहमति कार्यान्वयन गर्दै सत्ता सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको छ,’ पुनले भने।
उनका अनुसार यस विषयमा पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जानकारी गराइसकिएको छ। अन्य प्रदेशमा सत्ता समीकरण परिवर्तन भए पनि लुम्बिनीमा भने पुरानो सहमतिअनुसार अघि बढ्नु उपयुक्त हुने प्रदेश कांग्रेसको धारणा रहेको उनले बताए।
‘अन्य प्रदेशको अवस्थाभन्दा लुम्बिनीको परिस्थिति फरक छ। यहाँ भएको सहमतिलाई कार्यान्वयन गर्दै सहकार्यलाई निरन्तरता दिनुपर्ने हाम्रो धारणा हो,’ उनले भने,‘यसबारे केन्द्रलाई पनि जानकारी गराएका छौँ।’
२०८१ सालमा कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व सुरुमा एमालेले गर्ने र पछि आलोपालो प्रणालीअनुसार कांग्रेसले नेतृत्व लिने समझदारी भएको थियो। सोही सहमतिअनुसार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए भने कांग्रेसले सरकारलाई समर्थन गरेको थियो।
केन्द्रमा कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि सातै प्रदेशमा नयाँ राजनीतिक समीकरणको चर्चा चलिरहेका बेला लुम्बिनीमा भने दुई दलबीचको सहकार्यलाई निरन्तरता दिने प्रयास भइरहेको छ।
भर्खरै
लोकप्रिय
