एक्सप्लेनर

के हो खुद शून्य उत्सर्जन? उत्सर्जन कम गर्ने लक्ष्य के छ?

कार्बनडाइअक्साइडसहितका हरितगृह ग्यासको उत्सर्जन कटौतिका लागि वन क्षेत्र मानिन्छ । तस्बिर : टंक ढकाल

काठमाडौँ – विश्व मौसम संगठन (डब्लुएमओ) ले हालै सार्वजनिक गरेकाे प्रतिवेदनमा विश्वको तापक्रम औद्योगिक समयपूर्व (सन् १८५०–१९००) को तुलनामा विश्वव्यापी तापक्रम १.१५ डिग्री सेल्सियसले वृद्धि भइसकेको बताएकाे छ ।

‘प्रोभिजनल स्टेट अफ द ग्लोबल क्लाइमेट इन् २०२२’ नामक प्रतिवेदन विश्व मौसम संगठनले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २७ औँ सम्मेलन (कोप–२७) को सन्दर्भ पारेर सार्वजनिक गरेको थियो । जसमा विगतका ८ वर्ष इतिहासकै ८ सर्वाधिक गर्मी वर्ष बन्न लागिरहेको र जलवायु परिवर्तनका कारण उत्पन्न हुने संकट टार्नका लागि निर्धारण गरिएको यो शताब्दीको अन्त्यसम्ममा तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य प्राप्त गर्न लगभग असम्भव रहेको चेतावनी दिएको छ ।

यसकाे कारण हाे, वायुमण्डलमा कार्बनडाइअक्साइडसहितका हरितगृह ग्यास जम्मा हुने क्रम अर्थात् सञ्चिती निरन्तर बढ्नु । अर्थात् हरितगृह ग्यासको उत्सर्जन भइरहेको र त्यसलाई कम गर्न जारी प्रयास पर्याप्त नरहेको वैज्ञानिकहरुकाे निष्कर्ष छ । जलवायु परिवर्तनको गम्भीर प्रभाव रोक्नका लागि तापक्रम वृद्धि रोक्नु पर्ने र त्यसका लागि हरितगृह ग्यासको उत्सर्जन घटाउनुपर्ने तथा वायुमण्डलमा त्यसको सञ्चिती बढ्न नदिएर समयक्रममा घटाउँदै जानुपर्ने जलवायु वैज्ञानिकले बताउने गरेका छन् ।

वायुमण्डलमा हरितगृह ग्यास र तापक्रमवृद्धिको सम्बन्ध के छ?

 

पृथ्वीकाे वायुमण्डलमा हरितगृह ग्यास अर्थात् कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडसहित जम्मा भएर बसेको छ । डब्लुएमओको प्रतिवेदन अनुसार वायुमण्डलमा यी तीन हरितगृह ग्यासको सञ्चिती सन् २०२१ मा अहिलेसम्मकै धेरै पाइएको र प्रमुख अनुगमन स्टेशनबाट प्राप्त तथ्यांक अनुसार यो वर्ष (२०२२) मा पनि निरन्तर बढ्दो क्रममा रहेको छ ।

वायुमण्डलमा रहेका हरितगृह ग्यासले सूर्यबाट आएको ताप संश्लेषण गर्छ । केही तापलाई वायुमण्डलबाट बाहिर जान दिँदैन । यसले तापक्रम वृद्धिमा सहयोग गर्छ । यो प्रक्रियालाई ‘हरितगृह प्रभाव’ भनिन्छ ।

उदाहरणका लागि, काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक तथा निजी सवारी साधनमध्ये धेरैले खनिज इन्धन अर्थात् पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल) प्रयोग गर्छन् । सवारी साधनबाट निस्कने धुवाँसँगै कार्बनडाइअक्साइडसहितका हरितगृह ग्यास वायुमण्डलमा जान्छ । सो कार्बनडाइअक्साइड त्यहाँ जम्मा हुन्छ जसले गर्दा तापक्रम वृद्धि हुन्छ ।

वातावरण विभागकाे सन् २०१७ को अध्ययन अनुसार काठमाडौँ उपत्यकाको वायु प्रदुषणमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको भूमिका २८ प्रतिशत रहेकाे छ । अर्थात् पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले वायु प्रदुषणसँगै हरितगृह ग्यास उत्सर्जनमा सहयोग गर्छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार खनिज इन्धन अर्थात् कोइला, पेट्रोलियम र ग्यास हरितगृह ग्यास उत्सर्जनका प्रमुख स्रोत हुन् । खनिज इन्धनका कारण हुने हरितगृह ग्यासको उत्सर्जन ७५ प्रतिशतभन्दा बढी छ । यस्तै कुल कार्बनडाइअक्साइड उत्सर्जनमा खनिज इन्धनको भूमिका करिब ९० प्रतिशत छ ।

उत्सर्जन कम गर्ने लक्ष्य के छ?

काठमाडौँको कीर्तिपुरबाट देखिएको उपत्यकाको दृष्य । २०७९ कात्तिक १८ गते मध्य दिनमा यो तस्बिर खिच्दा काठमाडौँको वायुमण्डल धुम्मिएको अवस्थामा देखिएको हो । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

कार्बनडाइअक्साइड वायुमण्डलमा सञ्चित हुने प्रमुख हरितगृह ग्यास हो । यसको मापन पार्ट्स् पर मिलियन (पिपिएम) मा गरिन्छ । यस्तै मिथेन र नाइट्रस अक्साइडको मापन पार्ट्स् पर बिलियन (पिपिबी) हुने संयुक्त राष्ट्रसंघले तय गरेको छ ।

पछिल्लो तथ्यांक अनुसार वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा औद्यौगिककाल पूर्वको तुलनामा १४९ प्रतिशत बढेको छ । अर्थात् अहिले वायुमण्डलमा ४१५.७ पिपिएम कार्बनडाइअक्साइड छ । यस्तै मिथेनको मात्रा २६२ प्रतिशत बढेर १९०८ पिपिबी तथा नाइट्रस अक्साइडको सञ्चिती १२४ प्रतिशत बढेर ३३४.५ पिपिबी पुगेको संयुक्त राष्ट्रसंघले जनाएकाे छ ।

जलवायु परिवर्तनको गम्भीर प्रभाव न्यूनीकरण गर्न र संकटको अवस्था आउन नदिनका लागि सन् २०१५ मा पेरिस सम्झौता भएकाे थियाे । साे सम्झाैतामा विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि जान नहुने र त्यसका लागि उत्सर्जन सन् २०३० सम्ममा ४५ प्रतिशतले कटौति गर्नुपर्ने उल्लेख छ । यसै कारण सो सम्झौतामा सन् २०५० सम्म उत्सर्जन खुद शून्यमा झार्ने लक्ष्य लिइएकाे हो ।

खुद शून्य उत्सर्जन के हो र अवस्था के छ?

 

हरितगृह ग्यासको उत्सर्जन सम्भव भएसम्म शून्यमा झार्ने अर्थात् वायुमण्डलमा तापक्रम वृद्धिका लागि सहयोग गर्ने ग्यासको थप उत्सर्जन कम गरेर शून्यमा पुग्ने अवधारणालाई खुद शून्य उत्सर्जन भनिन्छ । यसको अर्को महत्वपूर्ण पक्ष वायुमण्डलमा रहेको हरितगृह ग्यास त्यहाँबाट संश्लेषण गर्नु हो । यसका प्रमुख माध्यमका रुपमा वन तथा समुद्रसँगै हरितगृह ग्यास संश्लेषण प्रविधिलाई मानिएको छ ।

तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि विश्वव्यापी रुपमा उत्सर्जन सन् २०२० देखि २०३० मा ७.६ प्रतिशत तथा २ डिग्रिसेल्सियस भन्दा तल सीमित रहनका लागि २.७ प्रतिशत प्रति वर्षका दरले कटौति गर्नुपर्ने हुन्छ ।

खुद शून्य उत्सर्जनकाे लक्ष्य हासिल गर्नका लागि उत्सर्जन कटौतिसँगै स्वच्छ ऊर्जामा आधारित विकासमा जोड दिने र पहिले नै जम्मा भएको हरितगृह ग्यासलाई साेस्ने प्रविधिको विकास तथा त्यसको वितरण गर्नुपर्ने हुन्छ ।

संयुक्त राष्ट्रसंघमा अहिलेसम्म विभिन्न देशहरुले बुझाएको राष्ट्रिय योजनाका अनुसार सन् २०१० को तुलनामा सन् २०३० सम्ममा विश्वव्यापी रुपमा हरितगृह ग्यासको उत्सर्जन १० प्रतिशतले बढ्ने देखिएको छ । तर तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि सन् २०१० को तहभन्दा सन् २०३० सम्ममा उत्सर्जन ४५ प्रतिशतले कटौति गर्नुपर्ने विज्ञहरुकाे सुझाव छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको पछिल्लो प्रतिवेदन अनुसार विश्वव्यापी रुपमा हुने उत्सर्जनमध्ये करिब आधा चीन, अमेरिका, भारत, युरोपियन युनियन, इन्डोनेशिया, रुस र ब्राजिलका कारण हुन्छ । यस्तै कुल उत्सर्जनको ७५ प्रतिशत हिस्सा विश्वका २० देश जिम्मेवार छन् । अहिले भइरहेका प्रयासहरुकै आधारमा उत्सर्जन कटौतिको लक्ष्य प्राप्त नहुने र खुद शून्य तर्फको मार्ग कठिन रहेको पछिल्ला प्रतिवेदनहरुले जनाएका छन् ।

प्रयास के भइरहेको छ?

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोप–२७ लाई सम्बोधन गर्दै ‘सन् २०५० सम्ममा खुद शून्य उत्सर्जनको लक्ष्य प्राप्त गर्नका लागि सन् २०३० सम्ममा उत्सर्जन ४५ प्रतिशतले कटौति गर्ने वाचा देशहरुले गर्नु पर्ने’ बताएका थिए ।

संयुक्त राष्ट्रसंघबाट जारी भएका प्रतिवेदन अनुसार देशहरु उत्सर्जन कटौतिको वाचामा पछि रहेको र अहिलेको उत्सर्जन शताब्दीको अन्त्यसम्ममा तापक्रम वृद्धि २.५ डिग्री सेल्सियस हुनेतर्फ रहेको छ । यस्तै देशहरु सन् २०१० को तुलनामा सन् २०३० सम्ममा उत्सर्जन कटौति १३.७ प्रतिशतले बढाउने बाटाेमा छन् ।

अहिले भइरहेको उत्सर्जनमा करिब एक तिहाई ऊर्जा क्षेत्रबाट हुने गरेको छ । खुद शून्य उत्सर्जनको लक्ष्य प्राप्त गर्न उत्पादन, उपभोग तथा यातायातसहितका क्षेत्रमा महत्वाकांक्षी परिर्वतन गर्नुपर्नेछ जुन कठिन छ । कोइला, ग्यास तथा तेलमा आधारित ऊर्जालाई विस्थापित गर्ने र वायु तथा सौर्य ऊर्जामा जानुपर्ने सुझाव छ तर युक्रेन युद्धका कारण उत्पन्न ऊर्जा संकटले त्यसलाई थप जटिल बनाएको छ ।

तर उत्सर्जन कटौति गरी खुद शून्य तर्फको यात्राका लागि विश्वव्यापी रुपमा पहल भइरहेको भने छ । ठूलो प्रदूषणकर्ता चीन, अमेरिका र युरोपियन युनियनसहित विश्वका ७० भन्दा बढी देशले खुद शून्य उत्सर्जन लक्ष्यका लागि वाचा गरेका छन् । यस्तै तीन हजार भन्दा बढी व्यवसाय तथा वित्तीय संस्था, विश्वका एक हजारभन्दा बढी शहर तथा त्यस्तै संख्यामा शैक्षिक संस्था पनि ‘रेस टू जिरो’ अभियानमा जोडिएका छन् ।

खुद शून्यको लक्ष्यलाई अझ स्पष्ट बनाउन संयुक्त राष्ट्रसंघका महासचिवले गएको मार्चमा उच्चस्तरीय विज्ञ समूह स्थापित गरेका थिए । सो समूहले कोप–२७ मा चेतावनी सहितको सुझाव प्रस्तुत गरेर अहिले भइरहेका प्रयास पर्याप्त नरहेको बताएको छ ।

नेपालको अवस्था के छ?

 

नेपालले सन् २०४५ भित्रै खुद शून्य उत्सर्जनको लक्ष्य प्राप्त गर्ने महत्वाकांक्षासहितको योजना संयुक्त राष्ट्रसंघमा बुझाएको छ । गएको वर्ष नेपालले युएनएफसिसिसीमा बुझाएको राष्ट्रिय निर्धारित दायित्व (एनडिसी) मा विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष पहिले नै खुद शून्यको लक्ष्य हासिल गर्ने बताएकाे छ ।

खुद शून्य उत्सर्जनमा नेपालको दीर्घकालीन रणनीतिमा ‘सन् २०३० भित्रमा खुद शून्य र त्यसपछि एकदमै न्यून उत्सर्जन गरी सन् २०४५ मा खुद शून्य उत्सर्जन हासिल गर्ने’ भनिएको छ । तर त्यसका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोगको खाँचो पर्ने नेपालकाे जिकीर छ ।

(यो सामग्री नेपालचेकमा पहिलोपटक प्रकाशित भएको थियो)

मंसिर ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्