- चार पटकको विश्व च्याम्पियन इटाली तेस्रो पटक लगातार विश्वकप छनोटमा असफल भएको छ।
- बोस्नियाले पेनाल्टी सुटआउटमा ४-१ ले जितेर २०१४ पछि दोस्रो पटक विश्वकपमा स्थान सुरक्षित गर्यो।
- इटालीको खेलमा १५ औं मिनेटमा अग्रता भए पनि एलेसान्द्रो बास्टोनीको रातो कार्डले १० खेलाडीमा सिमित भयो।
चार पटकको विश्व च्याम्पियन इटालीको निरासाजनक विश्वकप छनोट यात्रा यो पटक पनि दोहोरिएको छ। विश्वकप छनोटका लागि जित्नै पर्ने खेलअन्तर्गत मंगलबार राति भएको प्लेअफमा बोस्निया हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटालीलगातार तेस्रो पटक विश्वकपबाट बाहिर भएको हो।
निर्धारित समयको १–१ गोलको बराबरी भएपछि नतिजा पेनाल्टी सुटआउटमा धकेलिएको थियो। जहाँ इटाली स्तब्ध बन्यो। खेलमा अग्रता भने इटालीले लिएको थियो। मोइस केनको गोलबाट खेलको १५ औं मिनेटमा अग्रता बनाएको इटाली पहिलो हाफमै १० खेलाडीमा समेटियो। खेलको ४१औं मिनेटमा एलेसान्द्रो बास्टोनीले रातो कार्ड सामना गरेपछि इटाली १० खेलाडीमा सिमित भयो।
दोस्रो हाफमा बोस्नियाले बराबरी गोल फर्कायो। उसका लागि ह्यारीस टाबाकोभिकले ७९ औं मिनेटमा गोल गर्दा इटाली निरास बनेको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा बोस्निायाले ४-१ ले नतिजा आफ्नो पक्षमा पार्यो।
यसअघि इटाली सन् २०१८ र सन् २०२२ को विश्वकप पनि छनोट हुन सकेको थिएन्। बोस्निया भने सन् २०१४ पछि दोस्रो पटक विश्वकपमा छनोट भएको छ। प्रशिक्षक सर्जेज बारबारेजले प्रभावशाली प्रदर्शन गराउँदै टिमलाई विश्वकपमा स्थान बनाउन सफल भएका छन्। अब, बोस्नियाले समूह ‘बी’ मा क्यानाडा, कतार र स्विट्जल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
भर्खरै
लोकप्रिय
