फिफा विश्वकप २०२६ का लागि इतिहासमै धेरै खेलाडी अमेरिका पुग्दै छन्। आफ्नो विश्वकप सपनालाई नजिक तुल्याउन र आफ्नो फुटबल जीवनलाई विश्वकपसहित बिदाइ गर्ने महत्वपूर्ण नामहरूसमेत यो विश्वकपको महाकुम्भमा भाग लिँदै छन्।
फिफाले फिफा विश्वकप २०२६ को अन्तिम टोलीको सूची सार्वजानिक गरेसँगै विश्वभर विश्वकपको माहोल उत्कर्षतर्फ अघि बढिरहेको छ। प्रतियोगिता सुरु हुन अब केवल एक हप्ता बाँकी रहँदा विश्वभर चासो र सरगर्मी ह्वातै बढेको छ।
विश्व फुटबलकै सबैभन्दा रोमाञ्चक चरणमध्ये एक मानिएको यो विश्वकपमा कुल ४८ राष्ट्रका १ हजार २४८ खेलाडीहरूले क्यानडा, मेक्सिको तथा अमेरिकामा हुने कुल १०४ खेलहरूमा आफ्नो उपस्थिति देखाउने छन्। यो संस्करण विश्व फुटबलका लागि ऐतिहासिक मोड साबित हुने अपेक्षा गरिएको छ। पहिलो पटक यति धेरै खेलाडी र यो स्तरको ढाँचामा प्रतिस्पर्धा हुन लागेकाले स्वभाविक उत्सुक्ता देखिएको छ।
सार्वजनिक गरिएका टोली सूचीहरूले प्रतियोगिताको विशालता र लोकप्रियतालाई झन् स्पष्ट बनाएका छन्। कुल ३५७ खेलाडी यसअघि कम्तीमा एकपटक विश्वकप टोलीमा परेका अनुभवी खेलाडी हुन् भने ८९१ खेलाडीले पहिलोपटक विश्वकप खेल्ने अवसर पाएका छन्। यसले विश्व फुटबलमा निरन्तरता र नयाँ पुस्ताको आगमन दुवैलाई प्रतिबिम्बित गरेको फिफाको भनाइ छ।
खेलाडीहरूको उमेर समूह पनि निकै रोचक छ। सबैभन्दा पाका खेलाडी स्कटल्यान्डका क्रेग गोर्डन ४३ वर्ष १६२ दिनका छन् भने सबैभन्दा कान्छा खेलाडी मेक्सिकोका गिल्बेर्टो मोरा १७ वर्ष २४० दिनका छन्। प्रतियोगिता सुरु हुँदा २० वर्षमुनिका २२ खेलाडी र ४० वर्ष वा सोभन्दा माथिका सात खेलाडी मैदानमा देखिन सक्नेछन्। साथै, यसअघि विश्वकप जितिसकेका २२ खेलाडी पुनः विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा फर्किएका छन्।
स्थापित स्टार खेलाडीहरूको पुनरागमनसँगै यो विश्वकपले नयाँ राष्ट्र र नयाँ प्रतिभालाई पनि विश्वसामु चिनाउने अवसर दिएको छ। काबो भेर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकपमा सहभागी हुँदै छन्, जसले विस्तारित विश्वकपले विश्व फुटबललाई अझ प्रतिनिधिमूलक बनाएको देखाउँछ।
विशेष रूपमा उज्बेकिस्तानको पहिलो विश्वकप सहभागिता ऐतिहासिक उपलब्धि बनेको छ। म्यानचेस्टर सिटीका युवा डिफेन्डर अब्दुकोदिर खुसानोभजस्ता खेलाडीहरूले आफ्ना देशवासीहरूको सपना साकार पारेका छन्। नयाँ पुस्ताका अन्य चर्चित खेलाडीहरूमा फ्रान्सका वारेन जाइरे-एमेरी, न्युजिल्यान्डका फिन सुरमन र मोरक्कोका बिलाल एल खानुस उल्लेखनीय छन्।
यसैबीच अर्जेन्टिनाका लियोनेल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गोलकिपर गिलेर्मो ओचोआले कीर्तिमानी छैटौँ विश्वकप खेल्ने तयारी गरिरहेका छन्। सबैभन्दा धेरै चासो र समर्थकहरु यिनै स्टार खेलाडीको प्रदर्शनका लागि प्रतिक्षित छन्।
सार्वजनिक टोली सूचीले आधुनिक फुटबलको विश्वव्यापी स्वरूपलाई पनि उजागर गरेको छ। विश्वकपमा सहभागी खेलाडीहरू ७१ देशका ४४९ विभिन्न क्लबबाट आएका छन्। तीमध्ये १४ क्लब एएफसी क्षेत्रका, ६ क्याफका, ७ कन्काकाफका, ८ कोनमेबोलका, १ ओएफसीको र ३५ युरोपेली फुटबल महासंघ (यूईएफए) क्षेत्रका छन्।
केही राष्ट्रहरूको टोली लगभग पूर्ण रूपमा घरेलु खेलाडीमा आधारित छ। कतार र साउदी अरेबियाका २६ मध्ये २५ खेलाडी आफ्नै देशको लिगमा खेल्छन्। अर्कोतर्फ काबो भेर्डे, कंगो डीआर, कोट डी आइभोर, कुरासाओ, सेनेगल र उरुग्वेका सम्पूर्ण खेलाडी विदेशी लिगमा आबद्ध छन्।
प्रशिक्षकहरूको पक्षमा पनि रोचक तथ्य देखिएको छ। घानाका मुख्य प्रशिक्षक, पोर्चुगिज रणनीतिकार कार्लोस क्वेरोज लगातार पाँचौँ विश्वकपमा टोली सम्हाल्दै छन्। उनले यसअघि २०१० मा पोर्चुगल तथा २०१४, २०१८ र २०२२ मा इरानको नेतृत्व गरेका थिए। लगातार पाँच विश्वकपमा प्रशिक्षकका रूपमा सहभागी हुने उनी बोरा मिलुटिनोभिचपछि मात्र दोस्रो व्यक्ति हुन्।
फिफाका अनुसार सार्वजनिक गरिएका यी टोली सूचीहरूले विश्वकपको वास्तविक भावना झल्काउने र उत्कृष्टता, विविधता र फुटबलमार्फत विश्व एकताको उत्सवलाई प्रतिनिधित्व गर्ने सत्यसँग नजिक छन्।
४८ सहभागी सदस्य राष्ट्रहरूले जुन १ मा बुझाएका पूर्ण टोली सूचीहरू फिफाको वेबसाइटमा उपलब्ध गराएको छ। प्रतियोगिताको नियमअनुसार कुनै टोलीको पहिलो खेल सुरु हुनुभन्दा २४ घण्टाअघिसम्म मात्र गम्भीर चोट वा बिरामीका कारण खेलाडी प्रतिस्थापन गर्न पाइनेछ, यसका लागि फिफाले विशेष अनुमति प्रदान गर्नुपर्ने छ।
भर्खरै
लोकप्रिय
