वैभव सूर्यवंशी भारतीय राष्ट्रिय क्रिकेट टोलीमा छनोट हुने इतिहासकै सबैभन्दा कान्छा खेलाडी बनेका छन्। १५ वर्ष ७१ दिनका वैभवलाई जुन-जुलाईमा हुने आयरल्यान्ड र इंग्ल्यान्डविरुद्धको टी-२० शृंखला तथा सेप्टेम्बरमा आयोजना हुने एसियाली खेलकुदका लागि भारतीय टोलीमा समावेश गरिएको हो। एसियाली खेलकुदमा क्रिकेटका प्रतिस्पर्धा पनि टी-२० ढाँचामै खेलाइन्छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले श्रेयस अय्यरलाई टी-२० टोलीको नयाँ कप्तान नियुक्त गरेको छ। विश्वकप विजेता कप्तान सूर्यकुमार यादवलाई टोलीबाट समेत बाहिर राखिएको छ। टोलीमा तिलक वर्मालाई उपकप्तान नियुक्त भएका छन्।
टोलीमा पहिलो पटक छनोट हुँदा सबैभन्दा कम उमेर हुने कीर्तिमानमा वैभवले आफ्नो नाममा बनाएका छन्। उनले सफाली वर्मालाई पछि पारेका छन्। यसअघि पुरुष र महिला क्रिकेट दुवै समेट्दा भारतीय टोलीमा छनोट हुने सबैभन्दा कान्छी खेलाडी शफाली थिइन्। उनी १५ वर्ष २२० दिनको उमेरमा पहिलो पटक राष्ट्रिय टोलीमा परेकी थिइन्। पुरुष क्रिकेटतर्फ भने यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो, जो १६ वर्ष १९४ दिनको उमेरमा भारतीय टोलीमा छनोट भएका थिए।
डेब्यु गरे सबैभन्दा कान्छा भारतीय क्रिकेटर बन्ने अवसर
शफालीले १५ वर्ष २३९ दिनको उमेरमा भारतका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेकी थिइन् भने सचिनले १६ वर्ष २०५ दिनको उमेरमा डेब्यु गरेका थिए। यदि वैभवले आयरल्यान्ड-इंग्ल्यान्ड भ्रमण वा एसियाली खेलकुदमध्ये कुनै एक प्रतियोगितामा पनि खेल्ने अवसर पाए भने उनी शफाली र सचिन दुवैलाई उछिन्दै भारतका लागि खेल्ने सबैभन्दा कान्छा क्रिकेटर बन्नेछन्।
भारतीय टी-२० टोली
श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), वैभव सूर्यवंशी, अभिषेक शर्मा, सञ्जु सामसन, इशान किशन, शिवम दुवे, नितिश कुमार रेड्डी, अक्षर पटेल, वासिङ्गटन सुन्दर, रवि बिस्नोई, वरुण चक्रवर्ती, मोहम्मद सिराज, हर्सीत राना, अर्सदीप सिंह र प्रिन्स यादव
आईपीएल २०२६ मा वैभवको दबदबा
वैभव सूर्यवंशीले आईपीएल २०२६ मा सर्वाधिक ७७६ रन बनाएर ओरेन्ज क्याप जिते। उनले ‘मोस्ट भ्यालुएबल प्लेयर’, ‘इमर्जिङ प्लेयर अफ द इयर’, ‘सुपर स्ट्राइकर’ तथा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको पुरस्कारसमेत हात पारे।
यस सिजन उनले केवल ३६ बलमा शतक प्रहार गर्दै नयाँ चर्चा बटुलेका थिए। त्यस्तै, तीन पटक ९० देखि १०० रनको बीचमा आउट भएका उनी प्रतियोगिताका सबैभन्दा प्रभावशाली ब्याटरमध्ये एक बने।
भर्खरै
लोकप्रिय
