ब्राजिलका काकाले भर्खरै सन् २००७ को ‘फिफा प्लेयर अफ द इयर’ अवार्ड जितेका थिए तर मञ्चमा उनीसँग घटेको एउटा अप्ठ्यारो क्षण तत्कालीन समयमा भाइरल हुन पुग्यो। जसले सम्भवतः फुटबल इतिहासकै एउटा पुस्तान्तरणकारी र महान नयाँ अध्यायसँगै प्रतिद्वन्द्विताको सुरुवातको पहिलो झल्को दिएको थियो।
त्यसबेलाका युवा स्टार लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका थिए। तर, जुरिचको ओपेरा हाउसमा ब्राजिलका लेजेन्ड पेलेले झुक्किएर दोस्रो स्थानको ट्रफी रोनाल्डोको हातमा थमाइदिए। फिफा अध्यक्ष सेप ब्लाटरले बीचमै हस्तक्षेप गरेर उनीहरू दुईलाई ट्रफी साट्न लगाउनुपर्यो, जसमा दुवै खेलाडी खासै खुसी देखिएनन्।
त्यसपछिका १० वर्षसम्म मेसी वा रोनाल्डोले नै हरेक ब्यालोन डी’ओर र फिफा अवार्डहरूमा आफ्नो कब्जा जमाए। वास्तवमा सन् २००७ यता युरोपका उत्कृष्ट खेलाडीका लागि दिइएका २९ वटा अवार्डमध्ये २० वटा त यी दुईकै पोल्टामा परेका छन्।
खेल जीवनमा दुवैको कुल गोल संख्या झण्डै २ हजार पुग्न लागेको छ। क्लब र देशका लागि ८५ वटा ट्रफी जितेका छन् र अनगिन्ती व्यक्तिगत पुरस्कार तथा कीर्तिमानहरू उनीहरूका नाममा छन्। मेसी र रोनाल्डो इतिहासकै सबैभन्दा बढी सम्मानित र सफल खेलाडीका रूपमा सधैँ सम्झिइने छन्।
यो एउटा यस्तो प्रतिद्वन्द्विता हो, जसले पछिल्ला दुई दशकको फुटबललाई परिभाषित मात्र गरेन, बरु क्लब, देश र प्रतियोगिताहरूको सीमाना नाघेर विश्वभर फुटबल कसरी खेलिन्छ, कसरी हेरिन्छ र यसमा कसरी बहस गरिन्छ भन्ने कुरालाई नै नयाँ रूप दियो। फुटबलको विश्वव्यापी व्यावसायिक रुपान्तरणमा यी दुई खेलाडीले ऐतिहासिक देन दिए यो समयमा।
दुवै जनासँग सँगै खेलेका अर्जेन्टिनाका विश्वकप विजेता एन्जेल डी मारिया बीबीसी स्पोर्ट्सको नयाँ डकुमेन्ट्री ‘राइभल्स: मेस्सी भर्सेस रोनाल्डो‘मा भन्छन्, ‘उनीहरूजस्ता दुई खेलाडी, यति धेरै वर्षसम्म त्यस्तो उच्च स्तरमा प्रतिस्पर्धा गरिरहनु, ब्यालोन डी’ओरका लागि लड्नु र त्यति धेरै गोल गर्नु मलाई लाग्दैन कि हामीले यस्तो दृश्य फेरि कहिल्यै देख्न पाउने छौँ।’
ट्रफी, कीर्तिमान र सर्वश्रेष्ठ बन्ने अथक चाहनाबाट प्रेरित यी जोडीले एकअर्कालाई सधैँ नयाँ उचाइमा पुर्याउन मद्दत गरे। यो प्रतिद्वन्द्विता ‘सर्वकालीन महान खेलाडी’ (गोट) को बहसभन्दा धेरै माथि छ। डी मारिया थप्छन्, ‘उनीहरू दुवैले फुटबललाई नै बदलिदिए।’
‘ग्रेटेस्ट अफ अल टाइम‘ मा मतभेद र तथ्याङ्क
अहिलेको विश्वमा तपाईं जसलाई पनि सोध्नुहोस्, ‘सबैभन्दा महान को हो?’ उत्तरमा सहमति जुटाउन गाह्रो छ। रोनाल्डोका पूर्व म्यानचेस्टर युनाइटेड सहकर्मी रियो फर्डिनान्ड भन्छन्, ‘यो रोनाल्डो नै हुनुपर्छ।’ अर्कोतर्फ बार्सिलोनाका पूर्वखेलाडी तथा प्रबन्धक जाभी दाबी गर्छन्, ‘मेसी इतिहासकै सर्वश्रेष्ठ खेलाडी हुन्।’
रोनाल्डोले सन् २०१२ मा आफ्नै शैलीमा भनेका थिए, ‘तपाईं फेरारी र पोर्सको तुलना गर्न सक्नुहुन्न। यिनीहरूको इन्जिन नै फरक हुन्छ। कतिपयले मलाई राम्रो भन्छन्, कतिपयले उनलाई। तर तत्कालको लयका आधारमा कसले उत्कृष्ट खेलिरहेको छ भन्ने कुरा मानिसहरूले नै तय गर्नेछन्, र मलाई लाग्छ त्यो म नै हुँ।’

तथ्याङ्कले के भन्छ त? यदि गोल वा च्याम्पियन्स लिग ट्रफीको आधारमा मूल्याङ्कन गर्ने हो भने रोनाल्डो अगाडि छन्। यदि बालोन डी’ओर वा कुल ट्रफीको कुरा गर्ने हो भने मेसी माथि देखिन्छन्।
कतिपयका लागि सन् २०१६ मा पोर्चुगललाई युरोपियन च्याम्पियनसीप जिताउँदा रोनाल्डो अगाडि बढेका थिए, तर मेसीले त्यसपछि अर्जेन्टिनालाई दुई पटक कोपा अमेरिका र एक पटक विश्वकपको उपाधि दिलाए। स्पेनिस फुटबल विज्ञ गुइलेम बालागे भन्छन्, ‘मेरो लागि मेसी इतिहासकै उत्कृष्ट खेलाडी हुन् र क्रिस्टियानो इतिहासकै महान गोलकर्ता हुन्।’
पोर्चुगलमा रोनाल्डो र बार्सिलोनामा मेसीसँग खेलेका डेको भन्छन्, ‘उनीहरू विशेष छन्। उनीहरू अरूभन्दा पूर्ण रूपमा फरक छन्। यतिका वर्षसम्म यो स्तरमा रहिरहनु सामान्य कुरा होइन। हरेक वर्ष केही वर्षका लागि अद्भुत काम गर्ने धेरै खेलाडी आउँछन्, तर झण्डै २० वर्षसम्म निरन्तर शीर्षमा रहनु अस्वाभाविक हो।’
सायद यो बहसको सुन्दरता नै यही हो कि यो कहिल्यै टुङ्गिने छैन र यसलाई टुङ्ग्याउनु आवश्यक पनि छैन। मेसी र रोनाल्डोसम्बन्धी पुस्तकका सहलेखक जोनाथन क्लेग भन्छन्, ‘पछिल्ला २० वर्षदेखि आफूहरूले अभिनय गरिरहेको फुटबलको यो महानाटकमा उनीहरूले एकअर्कालाई सहकलाकारका रूपमा स्वीकार गर्न र सम्मान गर्न थालेका छन्।’
दुई विपरीत ध्रुव, तर उस्तै बाल्यकाल
यो जोडीलाई धेरैले दुई विपरीत ध्रुवका रूपमा हेर्छन्: एकतर्फ जादुमयी ड्रिबलर (मेसी), अर्कोतर्फ शारीरिक रूपमा सुगठित र शक्तिशाली खेलाडी (रोनाल्डो)। एकतर्फ लजालु स्वभावका प्रतिभा, अर्कोतर्फ आक्रामक अहम् भएका नायक। पेप ग्वार्डिओलाको बार्सिलोनाविरुद्ध जोसे मोरिन्होको रियल म्याड्रिड। एडिडासविरुद्ध नाइकी।
तर, उनीहरूको प्रतिद्वन्द्विताको कथा भिन्नताहरूमा बुनिएको भए तापनि सानै उमेरदेखि उनीहरूबीचका समानताहरू निकै आश्चर्यजनक थिए।
दुवै खेलाडी सामान्य र गरिब परिवारमा हुर्किएका थिए। दुवैले आफ्नो सपना पूरा गर्न सानै उमेरमा घर छोडे। मेसी १३ वर्षको उमेरमा अर्जेन्टिनाबाट बार्सिलोना आए भने रोनाल्डो १२ वर्षको उमेरमा मडेइराबाट लिस्बन गए। परिवारलाई पछाडि छोडेपछि दुवैले सुरुका दिनमा घरको तीव्र सम्झना (होम सिकनेस) सँग संघर्ष गरे।
वाल स्ट्रिट जर्नलका रिपोर्टर तथा पुस्तकका सहलेखक जोशुआ रोबिन्सन भन्छन्, ‘मेसी र रोनाल्डोलाई सधैँ फरक रूपमा चित्रण गरिन्छ तर बाल्यकालमा उनीहरूलाई तिखार्ने परिस्थितिहरू निकै समान थिए। उनीहरू दुवै यस्तो ठाउँमा पुगे जसले भन्यो, हामी तिम्रो प्रतिभालाई लिएर तिमीलाई अझ महान बनाउनेछौँ। त्यो वाचा आकर्षक त थियो तर एउटा ठूलो जुवा पनि थियो। त्यही पूर्ण प्रतिबद्धताको क्षणमा उनीहरूले महसुस गरे कि यो अब केटाकेटीको खेल रहेन, यदि म इतिहासकै सर्वकालीन महान बन्न चाहन्छु भने यसको सुरुवात यहीँबाट हुन्छ।’
तर, उनीहरूलाई सँगै जोड्ने सबैभन्दा ठूलो कुरा सफलता प्राप्त गर्ने उनीहरूको अटल चाहना थियो। जाभी भन्छन्, ‘तपाईंले मेसी पहिले नै केही फरक देख्न सक्नुहुन्थ्यो। केवल गुणस्तर मात्र होइन, उनले काम गर्ने तीव्रता पनि फरक थियो। आक्रमणमा उनको यस्तो आक्रामकता थियो जुन मैले पहिले कहिल्यै देखेको थिइनँ। क्रिस्टियानोले उनलाई अझ राम्रो खेलाडी बन्न थप ऊर्जा दिए।’
यता इंग्ल्याण्डमा, किशोर रोनाल्डोले स्पोर्टिङ लिस्बनबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए। युनाइटेडका तत्कालीन ब्याकरुम टोलीका सदस्य रेने म्यूलेनस्टीन भन्छन्, ‘मैले आफूले के बन्न चाहेको हो भन्ने कुरामा यति धेरै विश्वस्त भएको युवा खेलाडी कहिल्यै भेटेको थिइनँ। उनी संसारकै उत्कृष्ट खेलाडी बन्न चाहन्थे। क्रिस्टियानो छिटो सिक्ने खेलाडी थिए। म उनलाई केवल गोल गर्ने खेलाडीबाट ‘गोल मेसिन’ मा बदल्न चाहन्थेँ।’
व्यक्तिगत लडाइँ र सामाजिक सञ्जालको युग
सन् २००८ को च्याम्पियन्स लिग सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड र बार्सिलोना भिड्दा मेसी र रोनाल्डो पहिलो पटक आमने-सामने भए। गुइलेम बालागे भन्छन्, ‘त्यसबेला मेसी ला लिगामा र क्रिस्टियानो प्रिमियर लिगमा उत्कृष्ट भइसकेका थिए। ती दुई युवालाई सँगै मैदानमा देख्नु नै भविष्यको ठूलो संकेत थियो।’ युनाइटेडले ट्रफी जित्यो, रोनाल्डोले बालोन डी’ओर पाए र एउटा ऐतिहासिक प्रतिद्वन्द्विताको औपचारिक सुरुवात भयो।
सन् २००९ मा रोनाल्डोको कीर्तिमानी ८ करोड पाउण्डको रियल म्याड्रिड सरुवाले उनीहरूलाई फुटबल इतिहासकै सबैभन्दा तीव्र क्लब प्रतिद्वन्द्विता ‘एल क्लासिको’ (बार्सिलोनाविरुद्ध रियल म्याड्रिड) को केन्द्रमा ल्याइदियो।
सन् २०१८ मा रोनाल्डोले युभेन्टस नछोडुन्जेलसम्म दुवैले ५-५ वटा बालोन डी’ओर जितिसकेका थिए। स्पेनमा सँगै बिताएका ९ सिजनमा रोनाल्डोले रियलका लागि ४३८ खेलमा ४५० गोल गरे भने मेसीले बार्सिलोनाका लागि ४७६ खेलमा ४७१ गोल गरे।
तर यो तथ्याङ्कभन्दा धेरै माथि उठिसकेको थियो। खेल पत्रकार सिड लो भन्छन्, ‘यो व्यक्तिगत बनिसकेको थियो र सामाजिक सञ्जालको उदयको अर्थ पूरा संसारले उनीहरूलाई हेरिरहेको थियो। मोरिन्हो-ग्वार्डिओलाको प्रतिद्वन्द्विता रोनाल्डो-मेसीको प्रतिद्वन्द्विताको ऐनाजस्तै थियो। क्रिस्टियानो र लियो मैदानमा एकअर्कालाई पछाडि पार्न दृढ थिए। उनीहरूको व्यक्तिगत सर्वोच्चताको लडाइँ क्लबहरू बीचको ट्रफीको लडाइँको प्रतीक बनेको थियो।’
बार्सिलोना र मेसीले ला लिगामा प्रभुत्व जमाए भने च्याम्पियन्स लिगमा रियल म्याड्रिड र रोनाल्डोको वर्चस्व रह्यो। सन् २०१२ मा रोनाल्डोले रियललाई चार वर्षमा पहिलो पटक ला लिगाको उपाधि दिलाए, तर मेसीले आफ्नो लगातार चौथो बालोन डी’ओर अवार्ड जिते। जसले रोनाल्डोलाई निकै निराश बनायो। लेखक रोबिन्सन भन्छन्, ‘उनीहरूबीच एक साँचो इर्ष्या वा शत्रुता बढ्न थाल्यो। उनीहरू एकअर्कालाई खासै वास्ता गर्दैनथे र तुलना गरेको मन पराउँदैनथे।’

सन् २०१७ मा जब मेसीले रियल म्याड्रिडविरुद्ध ९२ औँ मिनेटमा विजयी गोल गरे, उनले आफ्नो जर्सी खोलेर सान्टियागो बर्नाबेउको भीडतिर देखाए। रोबिन्सन भन्छन्, ‘यो मेसीले आफ्नो प्रतिद्वन्द्वितामा आफूलाई पुन: स्थापित गर्दै सायद आफ्नो खेल जीवनमा पहिलो पटक ‘मलाई हेर’ भनिरहेको क्षण थियो।’ त्यसको केही महिनापछि, रोनाल्डोले बार्सिलोनाको मैदान क्याम्प नोउमा गोल गर्दा ठ्याक्कै त्यही उत्सवको नक्कल गरे।
फुटबलभन्दा माथि: एक अर्बौँको ‘वान–म्यान इकोनोमी‘
स्पेनमा उनीहरूको भेटघाट सन् २०१८ मा सकियो, तर बहस सकिएन। रोनाल्डो साउदी अरबको अल-नासर पुगे भने मेस्सी अमेरिकाको इन्टर मियामीमा छन्।
मेटाका खेलकुद प्रमुख रोब पिलग्रिम भन्छन्, ‘ब्रान्ड बेकह्यामले जे सम्भव छ भनेर ढोका खोलेका थिए, यी दुईले त त्यो ढोका नै भत्काइदिए।’ इटालियन फुटबल विज्ञ मिना रजौकी थप्छिन्, ‘तपाईं केवल खेलकुदको उत्कृष्टता मात्र खरिद गरिरहनु भएको छैन, तपाईं सिंगो ‘वान-म्यान इकोनोमी’ (एकल-व्यक्ति अर्थतन्त्र) खरिद गर्दै हुनुहुन्छ।’
आर्थिक कारोबारमा तोडिएका सीमा
सन् २०१८ मा रोनाल्डो युभेन्टस जाँदा पहिलो २४ घण्टामै ५ लाख २० हजार जर्सी बिके। सन् २०२१ मा मेसी पेरिस जाँदा मात्र ७ मिनेटमा १ लाख ५० हजार जर्सी बिके। इन्स्टाग्राममा रोनाल्डोका झण्डै ७० करोड फलोअर्स छन् भने मेसीका ५० करोड छन्। मेसीले विश्वकप ट्रफी उचालेको तस्बिर इन्स्टाग्राम इतिहासकै सबैभन्दा बढी (७.५ करोड भन्दा बढी) लाइक पाएको तस्बिर हो।
फोर्ब्सको सूची अनुसार रोनाल्डो ३०० मिलियन डलरको आम्दानीसहित विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी हुन् भने मेस्सी १४० मिलियन डलरसहित तेस्रो स्थानमा छन्। यो प्रतिद्वन्द्विता खेलकुद ब्रान्डहरू (मेसी एडिडास र रोनाल्डोको नाइकी) बीचको लडाइँले झनै रोचक बनेको छ। सन् २०२२ को कतार विश्वकपअघि लुइस भिटन (लुइस भिटन) को विज्ञापनका लागि यी दुईले सुटकेसमा चेस खेलिरहेको तस्बिर सार्वजनिक भएको थियो, जसलाई ‘इन्टरनेट ब्रेक गर्ने तस्बिर’का रूपमा चिनिन्छ।
अन्तिम अध्याय?
रोबिन्सन भन्छन्, ‘मेसीले अब जित्नका लागि केही बाँकी छैन। उनीसँग त्यो एउटा चीज छ, जुन रोनाल्डोसँग छैन– विश्वकप। अब प्रश्न यो उठ्छ, के मेसीले फुटबलको यो सम्पूर्ण युग नै जिते त? तर यो कथा अझै सकिएको छैन। अर्जेन्टिना र पोर्चुगल यसै समरको विश्वकपको पछिल्लो चरणमा भेट हुन सक्ने सम्भावना बलियो छ, जसले यो महाप्रतिद्वन्द्विताको अन्तिम र सबैभन्दा रोमान्चक अध्याय लेख्न सक्छ।
–बीबीसीको सहयोगमा भावानुवाद
भर्खरै
लोकप्रिय
