काठमाडौँ – नेपाली राष्ट्रिय महिला टोली ऐतिहासिक खराब प्रदर्शनको सिकार भएको छ। एसीसी वुमेन्स प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा हङकङसँग नेपाल केवल ४० रनमै समेटियो।
जितका लागि १ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा सबै विकेट गुमाएर मात्र ४० रनमा समेटियो। जुन नेपाली महिला क्रिकेटमा सर्वाधिक कम योगफलमा समेटिएको कीर्तिमान हो।
नेपाल यसअघि दक्षिण एसियाली खेलकुदमा बंगलादेशसँग ५० रनमा र दुई वर्ष अगाडि मलेसियासँग पनि समान ५० रनमा समेटिएको थियो। सुरुवातबाटै खराब प्रदर्शनको सिकार भएको नेपालले रन नजोड्दै ३ विकेट गुमाएको थियो। नेपाल खेलमा ६९ रनले पराजित भयो।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो। उसका लागि मरिको हिलले सर्वाधिक २९ रन बनाउँदा यस्मिन दसवानीले ४२ रनको अविजित इनिङ्स खेलेकी थिइन्। त्यस्तै, चन का यिङ क्यारीले ११ रन बनाउँदा मरिना लम्प्लगले १८ रन बनाएकी थिइन्।
१ सय १० रनको लक्ष्य पछ्याएको नेपाल ऐतिहासिक कम स्कोरमा समेटियो। नेपाल १३.३ ओभरमा ४० रन बनाउँदा अलआट भयो। नेपालका लागि सोनी पाख्रिनले १२ रन बनाउँदा रुविना क्षेत्रीले १० रन बनाउनु मात्र दोहोरो स्कोरका रुपमा रह्यो। अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेनन्।
नेपाललाई सस्तैमा समेट्ने क्रममा इक्रा साहरले ४ विकेट लिँदा चन का यिङ कारी र मर्याम बीबीले २-२ विकेट लिए।
भर्खरै
लोकप्रिय
