विश्व मौसम संगठनको चेतावनीसहितको प्रतिवेदन सार्वजनिक

गम्भीर जलवायु संकटतर्फ विश्व, किन लगातार तातो भइरहेछ पृथ्वी?

मुस्ताङकाे लेतेबाट देखिएकाे हिमनदी। जलवायु परिवर्तनका कारण विश्वभर नै हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्। यसले पर्वतीय  र तल्लाे तटीय क्षेत्रका बासिन्दाकाे जनजीवनमा गम्भीर असर पार्ने चेतावनी वैज्ञानिकहरूले दिँदै आएका छन्। तस्बिर: टंक ढकाल।

काठमाडौँ – विश्व जलवायु संकटको गम्भीर अवस्थातर्फ उन्मुख भएको संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनले संकेत गरेको छ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व मौसम संगठन (डब्लुएमओ) ले सार्वजनिक गरेको विश्वव्यापी जलवायुको वर्तमान अवस्थासम्बन्धी प्रतिवेदनले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि तत्काल प्रयास गरिनुपर्ने उल्लेख गरेको हो।

‘प्रोभिजनल स्टेट अफ द ग्लोबल क्लाइमेट इन २०२२’ प्रतिवेदन डब्लुएमओले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७ औँ सम्मेलन अर्थात् कोप २७ को अवसर पारेर इजिप्टको शर्म एल-शेखमा आइतबार सार्वजनिक गरेको हो। सो प्रतिवेदनअनुसार विगतका ८ वर्ष इतिहासकै ८ सर्वाधिक गर्मी वर्ष भन्नेतर्फ उन्मुख रहेका छन्।

निरन्तर बढ्दै गएको हरितगृह ग्यासको उत्सर्जनसहितका मानवीय गतिविधिका कारण पृथ्वीको तापक्रम निरन्तर बढ्ने क्रममा रहेको डब्लुएमओको प्रतिवेदनमा उल्लेख छ। हरितगृह ग्यासको केन्द्रीकरण अर्थात् एकाग्रता तथा सञ्चित तापक्रम बढ्दो क्रममा हुनु गम्भीर रहेको वैज्ञानिकले बताएका छन्।

‘गम्भीर तातो हावा, खडेरी र भीषण बाढीले विश्वभर यो वर्ष दशौँ लाख मानिस प्रभावित भए भने अर्बौँ बराबरको क्षति भयो’, डब्लुएमओको जलवायु प्रतिवेदनमा भनिएको छ, ‘जलवायु परिवर्तनका सङ्केतहरू र प्रभावहरू झन नाटकीय हुँदै गइरहेका छन्।’

विश्वको औसत तापक्रम औद्योगिक युग पूर्व (सन् १८५०-१९००) को तुलनामा करिब १.१५ डिग्री सेल्सियसभन्दा माथि पुगेको प्रतिवेदनमा जनाइएको छ। जलवायु परिवर्तनको गम्भीर प्रभाव रोक्नका लागि अन्तर्राष्ट्रिय रूपमा सहमति भएको र वैज्ञानिकहरूले पनि सीमाका रूपमा निर्धारण गरेको १.५ डिग्री सेल्सियसको तापक्रम वृद्धि सीमित गर्ने लक्ष्य ‘दुर्लभ’ रहेको प्रतिवेदनमा छ।

डब्लुएमओका महासचिव प्राध्यापक पेटरी टालसले भनेका छन्, ‘तापक्रम जति बढ्छ, गम्भीर प्रभावी त्यति नै बढी हुन्छ। वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा यति धेरै जम्मा भएको छ कि पेरिस सम्झौतामा उल्लेख गरिएजस्तो तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्ने कुरा दुर्लभ देखिन्छ।’

गम्भीर चेतावनीसहितको प्रवितेदन इजिप्टमा सुरु भएको जलवायु वार्ताको पहिलो दिनमै सार्वजनिक भएको हो। प्रतिवेदनअनुसार सन् २०१६ यताका हरेक वर्ष इतिहासकै गम्भीर गर्मी वा तातो वर्षका रूपमा स्थापित भएका छन्। गएको दुई वर्ष ला निन्ना मौसमी प्रणालीले विश्वको तापक्रम केही सीमित गरिरहेको प्रतिवेदनमा जनाइएको छ। अब आउने एल निन्नो प्रणालीले भविष्यमा तापक्रम वृद्धि थप उच्च बनाउने र विश्वव्यापी तापक्रमवृद्धि थप बढ्ने देखिएको उल्लेख छ।

उत्सर्जन निरन्तर भइरहँदा वायुमण्डलमा कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडको मात्रा कीर्तिमानी रूपमा उच्च रहेको डब्लुएमओको प्रतिवेदनमा उल्लेख छ। वार्षिक रूपमा मिथेन ग्यासको मात्रा कीर्तिमानी रूपमा बढेको छ। यस्तै, समुद्रको तापक्रम  पनि उच्च रूपमा बढेको छ।

३० वर्षअघि (सन् १९९३) को तुलनामा समुद्र सतह दोब्बर तीव्र गतिमा बढिरहेको छ। समुद्रको तापक्रम अहिलेसम्मकै उच्च भएको  प्रतिवेदनमा उल्लेख छ।

यस्तै, विशेषगरी युरोपमा हिमनदी पग्लिने क्रम सन् २०२२ मा अत्यधिक देखिएको र औषतमा हिमनदीको लम्बाइ चार मिटरसम्म गुमेको छ। ग्रिनल्याण्डको ३२ सय मिटर उचाइमा हिउँ नभइ पानी परेको देखिएको छ र यो इतिहासमै पहिलो पटक हो। जलवायु परिवर्तनको प्रभाव स्पष्ट रूपमा देखिएको र यसले पृथ्वीमा रहेका सबै र सबथोकलाई गम्भीर रूपमा असर गर्ने उल्लेख छ।

‘हरितगृह ग्यासको उत्सर्जन कटाैतीका लागि सबैले तत्काल काम गर्नुपर्छ। पृथ्वीमा जीवनको निरन्तरताका लागि अनुकूलनमा लगानी बढाउनु पर्छ’, डब्लुएमओका महासचिव टालसले भनेका छन्।

गएको सेप्टेम्बरसम्मको तथ्यांकलाई विश्लेषण गरेर डब्लुएमओले प्रतिवेदन जारी गरेको हो। यसको पूर्ण संस्करण आउँदो अप्रिलमा जारी हुने जनाइएको छ।

पछिल्ला प्रतिवेदनहरूले पृथ्वी जलवायु संकट अर्थात् विपदको निकै नजिकै रहेको संकेत गरेका छन्। यस्ता खाले विपद टार्नका लागि तय गरिएको १.५ डिग्री सेल्सियसको लक्ष्य प्राप्त हुने विश्वसनीय आधार नरहेको तथा अहिले भइरहेका प्रयासहरूका आधारमा तापक्रम वृद्धि यो शताब्दीको अन्त्यसम्ममा २.५ डिग्रिसम्म पुग्ने देखिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हरितगृह ग्यासको उत्सर्जन कटौती आवश्यक मात्रामा नभइरहेको अवस्थाले पृथ्वीको भविष्यलाई गम्भीरतातर्फ उन्मुख गराएको र अब त्यसलाई परिवर्तन गरेर आशा तर्फ लैजानु पर्ने बताएका छन्।

कात्तिक २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्