मध्यविन्दु

स्यावास! ओलीज्यू, डा. केसीलाई लडाउनु भो!

अचम्म मान्नु पर्दैन, अब देशमा जिउँदालाई मूर्दा बनाइन्छ र त्यो मूर्दाको पनि उपचार गरिन्छ। त्यसको भरपुर बाँचेकाले गर्नु पर्नेछ। घाट र चिहानमा पनि नेतापोषित माफिया र दलाल भेटिने छन्।

गज्जब गर्नुभो कामरेड! अन्ततः डाक्टर केसीलाई लडाउनु भो। स्यावास, प्रधानमन्त्री तथा नेकपाका आधा अध्यक्ष्य खड्गप्रसाद उर्फ केपी ओलीज्यू। स्यावास, उही दलका बाँकी आधा अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डज्यू!

दुईतिहाइको भन्दा पनि मार्सी चामलको भातको तागत बलियो देखियो, गणतन्त्र नेपालमा! डा. केसीको सत्याग्रहले जन्माएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको घाँटी रेटियो। राष्ट्रिय ‘माफिया’ चिकित्सा शिक्षा विधेयकको जन्म भयो। अर्थात संसदीय समितिबाट ‘माफिया’ विधेयक पास भयो।

वाइड बडी जहाजले तताएको नेपाली राजनीतिलाई कामरेडहरुको पादरीगिरीको चर्चाले झन ततायो। रेशम चौधरीको सपथसँगै अहिले चिकित्सा विधेयकले तताएको छ। ओलीजी र प्रचण्डजी विरुद्ध नेपाली मिडिया फेरि तातेको छ। सामाजिक सञ्जाल फेरि खनिएको छ। उही आवाज फेरि उठेका छन्– ‘ओलीजी र प्रचण्डजीले फेरी अर्को बेइमान गरे। फेरि देश र जनतामाथि झन् ठूलो घात गरे।’

तर केपी ओली र प्रचण्डजीजति इमान्दार नेता मैले अरु कोही देखिन। उहाँहरु वास्तवमै इमान्दार र धन्यवादका पात्र हुनुहुन्छ। वाह, मार्सी चामलको भातप्रतिको इमान्दारी र दुर्गा प्रसाईको नूनप्रतिको वफादारी! यसलाई ‘नमकहलाली’ भनिन्छ। यसको ‘अदा’ जो कोहीले गर्न सक्दै सक्दैन। तर ओलीजी र प्रचण्डजीले गर्नु भो। गाउन लायक छ, मार्सीभातको कथा र नूनको गुनको गाथा।

धेरै देखिए देशमा बेइमान नेता तर ओलीजी र प्रचण्डजी जस्तो इमान्दारीपूर्वक बेइमानी गर्ने अरु देखिएका थिएनन्। फरक यति हो, प्राय: सबै नेताले बेइमानीमात्र गरे तर ओलीजी र प्रचण्डजीले पूर्ण इमान्दारीपूर्वक पूर्ण बेइमानी गर्नु भो।

आखिर ती तपस्वी बुढा डा. गोविन्द केसीलाई धोका नदिने नेता को छन्? १५ अनशन रहरले हैन, धोकाले बस्नु परेको होे! मेडिकल ‘धन्धावाल’मालिक दुर्गा प्रसाईले पनि धोका खाँदै आएका थिए। कमसेकम यसपटक कामरेडहरुले धोखाको त्यो परम्परा तोडेर छलाङ मार्नु भो। जनताका डाक्टरलाई पहिलेजस्तै धोका दिए पनि धन्धावाल मालिक, जसलाई ‘मेडिकल माफिया’का नामले सम्बोधन गरिन्छ, तिनलाई धोका दिनु भएन। तीप्रति इमान्दार हुनु भो। यो शक्ति र साहस चानचुने हैन।

कामरेड ओली र प्रचण्डजीको स्मरणशक्ति पनि प्रशंसनीय छ। मान्छेले आजको भोलि बिर्सन्छ तर उहाँहरुले १० महिना अघि २०७४ पुष ६ गते चरेसको थालमा मार्सीको भातसँगै निष्ठाको गाँस हाल्दै खाएको बाचा भुल्नु भएन।

मानिस उमेरसँग धेरै कुरा बिर्सदै जान्छ। ओलीजी र प्रचण्डजी उमेरले पनि बुढो हुँदै जानु भएको छ। बुढ्यौलीसँगै कतिपय कुरा भुल्नु स्वाभाविक हो। शेरबहादुरजी अहिलेको अहिले भुल्नु हुन्छ, मञ्च र माइकमा के बोल्ने थाहा पाउनु हुन्न। त्यसमाथि ओलीजी झन् बुढो र रोगी पनि हुनुहुन्छ।

पाठकवृन्दलाई स्मरण होला कि नहोला, रोगीमात्र हैन ओलीजीको मानसिक अवस्था ठीक नभएकोले उपचार गराउने सल्लाह तीन वर्षअघि मित्र कामरेड माधव नेपालजीले दिनु भएको थियो। जतिबेला नेपालजी र ओलीजी नेकपा एमालेको अध्यक्षका लागि मल्लयुद्ध गर्दै हुनुहुन्थ्यो तर नाङ्गै! यस्तो अवस्थापछि पनि ओलीजीले मर्सीभात र नूनको मनितो गर्नु भो। फलतः बाचा पूरा गर्नु गर्दै हुनुहुन्छ।

यस्ता इमान्दर नेता पाउन गाह्रो छ तर ओली र प्रचण्ड कामरेडको आजको यो इमान्दारीको भारी मूल्य भोलि डा. केसीले हैन, देशका गरीब र निमुखा जनातले चुकाउनु पर्नेछ। तिनका सन्तान दरसन्तानले चुकाउनु पर्ने छ।

आज देशमा नूनदेखि सुनसम्म माफिया छन्। मलदेखि ढलसम्म दलाल छन्। पानीदेखि खानीसम्म गुण्डा छन्। गुड्नेदेखि उड्नेसम्म बिचौलिया छन्। सरकार गैरसरकारी भएको छ। देशको शिक्षामा माफिया, सञ्चारमा माफिया, सुरक्षामा माफिया अब स्वास्थ्य सेवामा पनि माफिया! अभिषप्त नेपालीले अब जन्मेदेखि नमरुञ्जेल माफिया झेल्नु पर्ने छ।

वास्तवमा धोका डा. केसीलाई हैन, देशलाई भयो। सिरानमै उल्लेख गरेको छु– अचम्म मान्नु पर्दैन, अब देशमा जिउँदालाई मूर्दा बनाइन्छ र त्यो मूर्दाको पनि उपचार गरिन्छ। त्यसको भरपुर बाँचेकाले गर्नु पर्नेछ। घाट र चिहानमा पनि नेता पोषित माफिया र दलाल भेटिने छ।

आज देशमा नूनदेखि सुनसम्म माफिया छन्। मलदेखि ढलसम्म दलाल छन्। पानीदेखि खानीसम्म गुण्डा छन्। गुड्नेदेखि उड्नेसम्म बिचौलिया छन्। सरकार गैरसरकारी भएको छ। देशको शिक्षामा माफिया, सञ्चारमा माफिया, सुरक्षामा माफिया अब स्वास्थ्य सेवामा पनि माफिया! अभिषप्त नेपालीले अब जन्मेदेखि नमरुञ्जेल माफिया झेल्नु पर्ने छ।

एक सत्याग्रही डा. केसीको आन्दोलनले आर्जेको जनस्वास्थ्य विधेयक मार्ने प्रयत्न गरिदैंछ तर ओलीजी र प्रचण्डजी ख्याल राख्नुपर्छ जनताले त्यो सफल हुन दिँदैनन्। देशको एउटा ज्यादै इमान्दार नागरिकको तपस्या खेरजान दिने छैनन्। डा. केसी फेरि लड्नु भएको छ तर उहाँ फेरि पनि उठ्नु हुन्छ। नेपाली जनताले उहाँलाई ढल्न दिने छैनन्। तर ओलीजी र प्रचण्डजी ढलेपछि उठाउने कोही हुँदैन।

देशका धेरै टाउका भ्रष्ट नेताका निजी पाइखाना बनेका छन्। जति फोहर गरे पनि ती टाउका तिनै नेताका लागि तलमाथि गर्छन्। तर, ती फोहरी टाउकाभन्दा धेरै निर्मल टाउका जन्मिएका छन्। दुराचार व्यभिचार सामू झुक्दै नझुक्ने स्वाभिमानी युवा टाउका। ती युवाले आज आफ्नै नेताबाट देश बचाउनु छ। देशलाई अभिषप्त हुनबाट जोगाउनु छ।

सादगीका पूजारी ती ब्रम्हचारी डा. गोविन्द केसीले के माग्नु भएको छ? नैतिकहीन नेताले जस्तो पद, पैसा, भाग, कमिशन, दलाली, दस्तुरी? कसका लागि माग्नुभएको छ? आफ्ना दाइभाइ, सालासाली, भान्जाभान्जी, छोरीज्वाइँ, सम्धीसम्धिनी? हरेक नेपालीले प्रधानमन्त्री ओलीजी, प्रचण्डजी लगायत नेकपाका सांसादहरुलाई यो प्रश्न सोध्नु पर्छ। यी नेतामा एकप्रतिशत मात्र इमान्दारिता बाँचेको छ र देश तथा जनताप्रति अर्को एकप्रतिशन मात्रजवाफदेहिता भने यो प्रश्नको उत्तर उहाँहरुले दिनुहुन्छ।

अहिले डा. केसीको १६ औं अनशन इलाममा चलिरहेको छ। उहाँ निराहार व्रत बस्नु भएको छ त्यहाँको एकमात्र सरकारी अस्पतालमा एउटा एक्सरे मेसिन समेत छैन। त्यो अस्पताल बलियो बनाऊ। आफ्ना जनतालाई अकालमा मर्न नदेऊ। स्वास्थ्यसेवामा माफियालाई घुस्न नदेऊ। सामान्य भाषामा बुझ्नु पर्दा ती सत्याग्रही डाक्टर केसी को माग यही हो।

आखिर राजा वीरेन्द्र मारिएको देश हो, नेपाल। मदन भण्डारीलाई खोलामा खँदारेर आफ्नो बाटो सफा गर्ने नेताहरुले चलाएको पार्टी हो, नेकपा। नेकपाका कुनै नेताले प्रमाणपूर्ण आधार र तर्क खोज्नु हुन्छ भने म दिन तयार छु। प्रधानमन्त्री ओलीज्यू, यदि डा. केसी पनि तपाइँहरुको कुत्सित स्वार्थको तगारो बनेका छन् भने दाग्नुस् तिनका छातीमा गोली। नाथे एउटा ख्याउटे बुढो डाक्टर! हटाउनुस् तगारो। छ, हिम्मत?

यदि डा. केसीको सत्याग्रह राष्ट्रमुखी, जनमुखी र विद्यार्थीमुखी छैन, देश र जनता विरोधी छ भने पनि ती डाक्टरलाई प्राणदण्ड दिनुस्। म पनि समर्थन गर्छु। हैन भने एउटा सत्याग्रहीलाई यसरी बारम्बार तड्पाएर मार्ने कुचेष्टा गर्नु अमानवीयताको पराकाष्ठा हो। एउटा तपस्वीको तपस्याको आगोले सयौं केपी ओली र सयौं प्रचण्डहरुलाई भस्म गर्न सक्छ।

हिजो के भनेर सम्झौता गर्नु भो? आज किन तोड्नु भो? एउटा दुर्गा प्रसाइका लागि राष्ट्रको बलि चढाउने अधिकार केपी ओली र पुषकमल दाहललाई जनताले दिएका छैना्। जनमतको बलात्कार हो, यो।

प्रधानमन्त्री तिनै हुन्, नेकपा सांसद तिनै हुन्, डा केसीसँग भएको सम्झौतामा हस्ताक्षर गर्ने तिनै हुन्, हिजो संसदमा हाँसिहाँसी पढेर सुनाउने पनि तिनै हुन्। तिनै आज भित्रभित्रै लुकीलुकी किन षडयन्त्र गर्दैछन्?

नेकपाका महासचिव तथा सांसाद विष्णु पौडेल तथा अर्का वरिष्ठ नेता सुवास नेम्वाङजी त्यसको जिउँदो साक्षी हुनुहुन्छ। उहाँहरु डा.केसीको १५ औँ अनशनमा प्रधानमन्त्री र दलका अध्यक्ष ओलीका तर्फबाट वार्ता र सम्झौता गर्न खटिनु भएको थियो। माथेमा कार्यदलको सुझाव र डा. केसीका माग हुबहु पालना र पूरा गर्ने सम्झौता भएको हो, होइन? सक्नु हुन्छ, होइन भन्न? १५ औं अनशनको २७ औं दिनमा गरेको त्यो सम्झौता कसको स्वार्थका लागि आज उल्लंघन गरिँदैछ? तपाइँहरुको बक किन बन्द छ?

नेकपाका सांसदहरुले आफ्ना आँखाले हेर्नु भो देख्नु स्पष्ट देख्नु हुनेछ, आफू कहाँ चुकेको छौं? तर तिनै माफियाका आँखाले हेर्नु भो भने तपाइँले पनि त्यही देख्नु हुन्छ, जे तपाइँका नेता केपी ओलीले देख्नु हुन्छ। कामरेडहरु, यति तल नगिर्नुस् जहाँबाट कहिल्यै उठ्न सकिँदैन। समय अझै छ।

मैले योगेश भट्टराईलाई सुझबुझपूर्ण एक सांसद र भविष्यका एक नेताका रुपमा हेरेको थिएँ। तर उनका पछिल्ला घटिया र कुर्तकपूर्ण झूठा बकबासले मजस्ता हजारौंको भ्रम दूर गरिदिएको छ।

सासंद योगेश भट्टराईजी, तपाईँलाई यही लेखबाट च्यालेन्ज गर्छु– सार्वजनिक जीवनमा शुद्धताबारे तपाईँ आफैँले आफैँलाई एकपटक इमान्दारीका साथ नियाल्नुस् अनि आफूलाई डा. केसीसँग तुलना गर्नुस्। तपाईँले डा. गोविन्द केसीजस्ता पवित्रताका प्रतिमूर्तिलाई नैतिकताको पाठ सिकाउन मिल्छ?

तपाईँका नेता केपी ओलीदेखि पेट्रोल पिएर साइकल चढ्ने, साइकल चढेर सिंहदरबार बदल्छु भन्दै हिँड्ने लालबाबूसम्मको हिसाबकिताब पनि मैले राखेको छु। बहस गर्न तयार हुनुहुन्छ?

पाँच मिनेट समय लिएर २०७३ साउन १ को नवौं र २०७५ असार १ को पन्धौं अनशनको सम्झौता पढ्नु होला। थाहा हुन्छ, कति बेइमानी गर्दै हुनुहुन्छ तपाईँहरु? बेइमानीको पनि हद हुन्छ, यार! लज्जा भन्ने चिज पनि त अलिकति हुन्छ!

डा. केसीलाई हदैसम्म मानसिक दबाब दिएर वास्तवमै उहाँको मानसिक सन्तुलन खलबल्याउने दुष्प्रयास भित्रभित्रै हुँदैछ। यी सत्याग्रहीलाई असन्तुलित बनाएर आन्दोलन तुहाउने डरलाग्दो षडयन्त्रको रथ निर्माण हुँदैछ। शकुनी र दुशासनहरु सवार षडयन्त्रको त्यो रथको सारथि बन्नुभो योगेशजी तपाईँ।

एउटा मान्छेले कति हदसम्म दुराचार सहन सक्छ? कति हदसम्म ‘टर्चर’ सहन सक्छ? स्वाभाविक छ, एक हदपछि मान्छेले सन्तुलन गुमाउन सक्छ। म देशसञ्चार मार्फत डा. गोविन्द केसीज्यूलाई सादर अनुरोध गर्छु, आफू सिधैं प्रस्तुत हुनुभन्दा सहयोगी वा प्रवक्ता मार्फत प्रस्तुत हुनु हितकर हुनेछ। नत्र त्यो षडयन्त्रको शिकार बनाउने छन् तपाईँलाई।

सोह्रौँ अनशनसम्म आइपुग्दा डा. केसी झण्डै २०० दिन भोकैप्यासै भुइँमा लडिसक्नु भएको छ। आजसम्म संसारको कुन राज्यले एउटा सत्याग्रहीमाथि यति निर्मम प्रहार, यति क्रूर व्यवहार र यति ठूलो धोका र यो हदसम्मको दूराचार, यति अक्षम्य व्यवहार गरेको होला?सत्ताको चरम दुरुपयोग र दुराचार मात्र हैन एउटा दुष्टराज्यको प्रतीक हो, यो।

सांसद, सुवास नेम्वाङ तथा विष्णु पौडेलजी, मान्छेलाई मान्छेका रुपमा उभ्याउने आत्मा, चेतना र बुद्धिले हो। यीमध्ये एउटा मात्र जिउँदो छ भने त्यो मान्छेले आफूलाई मान्छेका रुपमा उभ्याउन सक्छ। त्यो मान्छेले निष्ठा र नैतिकताको अन्तिम सीमा कहिल्यै पार गर्दैन।आत्महत्या गरेर दास बन्दैन। मुख खोल्नुस्, अलिकति भए पनि सत्य बोल्नुस्। कृपया, ती असहाय, गरीब र दुःखीका लागि बोल्नुस्। यसको त्यो राज्यमा कहीँकतै कुनै पहुँच छैन।

नेकपाका लागि दुई तिहाइ एक अवसर थियो तर अभिश्रापमा परिणत हुँदैछ। देश नारकीय बाटोमा जाँदै छ।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्